नेपालका कतिपय गाउँमा सडक मार्ग पुगेकै छ, पुगेका ठाउँमा पनि बाटो असहज छ । हवाइ मार्ग पनि सुरक्षित छैन । बुधबार देशले हेलिकोप्टर दुर्घटनामा ७ होनाहार नागरिक गुमायो । १२ वर्षअघि ताप्लेजुङमै भएको दुर्घटनामा तत्कालनि वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता थिए । कास्की २ बाट प्रत्यक्ष निर्वाचित सांसद अधिकारी यसअघि संसदको विकास समितिका सभापति थिए । बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवीका जेठा सन्तानको रुपमा रुपमा २०२६ साल वैशाख २२ गते आइतबार कास्कीको साविक भरतपोखरी ९ जामुनाबोट हाल पोखरा महानगरमामा उनको जन्म भएको थियो । अधिकारीले विद्या भट्टराईसँग वैवाहिक सम्बन्ध गासेका थिए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका थिए । एसियाली विद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युवा संघ लगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारीले बिभिन्न अन्तर्राष्ट्रिय सम्मलेनमा भाग लिएका थिए ।
१२ वर्षको उमेरमै अधिकारीको राजनीतिक यात्रा आरम्भ भयो । उनी २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियुका सबैभन्दा कान्छा सदस्य चुनिए । विद्यार्थीका लागि निशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी स्कुल जीवनमा जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित विद्यार्थी थिए ।
२०३७ सालमा विद्यार्थी राजनीतिमार्फत उनी राजनीतिमा प्रवेश । प्रवेशिका उतीर्ण गर्ने बित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भए पनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरे । उनी २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष बने । २०४५ मा १ वर्ष माध्यमिक विद्यालयमा उनले पढाए पनि ।
उनी २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष बने । २०४७ सालमा गण्डकी अञ्चल कमिटी अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य निर्वाचित भएका उनी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति निर्वाचित भए । २०५३ सालमा त्रिवि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निवार्चित भएका उनी २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बने । पञ्चायत विरुद्धमा २०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्र पञ्चायत कालमा पटक पटक गरी ६ महिना जेल र हिरासतमा परेका थिए । नेपाली भूभाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा पारस शाहको ज्यादतीविरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन, जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको नेतृत्व अधिकारीले नै गरेका थिए ।
पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन उनले बिताए । प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासतमा बसे । एमाले कास्की जिल्ला कमिटीका सचिव, एमाले कास्की जिल्ला कमिटी अध्यक्ष हुँदै २०६४ मा संविधानसभा सदस्य बने । मन्त्री हुनुअघि अधिकारी नेकपा एमाले केन्द्रीय सदस्य, व्यवस्थापिका संसदको विकास समितिको सभापतिको भूमिका निर्वाह गरेका थिए । अधिकारी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसमेत थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनका संविधानसभा, लोकतन्त्र र पूर्नसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित छन् । अधिकारी लोकप्रिय नेता र कुशल लेखक पनि थिए ।
अधिकारी बुधबार ताप्लेजुङ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पूर्वी जिल्ला प्रस्थान गरेका थिए । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा २०७५ फागुन १५ गते दिउँसो १ बजे मन्त्री अधिकारीको निधन भएको छ ।




