थ्रीस्टार आहा रारा गोल्डकप फाईनलमा

झरीले रुझेको मैदान । हिलाम्यसँगै चिप्लो । खेलाडी आफैं नियन्त्रण हुन कठिनाई । बुधबार विहानैदेखि परेको पानीले पोखरा रंगशालामा १७ औं सस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा रुस्लान थ्रीस्टारले एपीएफलाई अन्तत पेनाल्टी सुटआउट पुगेर पन्छायो ।

पेनाल्टी सुटआउटमा पराजित गर्दै रुस्लान थ्रीस्टार १७ औं सस्करणको आहा रारा गोल्डकपको फाईनल प्रवेश गर्दा मनकामना केवलकार पोखरा कपको उपविजेता शसस्त्र प्रहरी बल सेमिफाईनलबाट यात्रा टुंगिएको छ । पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै थ्रीस्टार फाईनल सुरक्षित बनायो ।

निर्धारित समय गोलरहित टुंगिएको थियो । बुधबार विहानैदेखि परेको पानीले रुझेको मैदानमा प्रतिस्पर्धाको पहिलो सेमिफाइनललाई दुवै टोलीको सहमतिमा गोलरहित बराबरी पछि सिधै पेनाल्टी सुटआउट गरिएको थियो । मैदान हिलाम्मे भएपछि थप समय खेल लम्ब्याउन उपयुक्त नदेखिएपछि हानिएको पेनाल्टीमा एपीएफ अभागी बन्यो । दुई पेनाल्टीलाई चुकाएपछि यात्रा पनि फाईनलसम्म लेखाउने अवसर गुम्यो ।

पहिलो पेनाल्टी थ्रीस्टारका रन्जित धिमालले हाने । गोल गरे । एपीएफको पहिलो पेनाल्टी सुदिप सिख्राकार हान्न आए । तर उनले पेनाल्टीलाई क्रसबार ठोकिदिए । बल आउट भयो । एपीएफको अभागी सावित भयो । थ्रीस्टारको दोस्रो पेनाल्टी बुद्धराज लिम्बुको प्रहारलाई बैकल्पिक गोलकिपरको रुपमा मैदान छिरेका रोमन रसाईलीले बचाए । एपीएफको आशा जिवितै रह्यो ।

सुनिल बलले गोल गरेपछि थ्रीस्टारले पेनाल्टीमा अग्रता बनायो । एपीएफका आशिष लामाले पनि गोल गरे । थ्रीस्टारका रुपेश केसीले चौथो पेनाल्टी हाने । उनले एपीएफका गोलकिपर रसाईलीलाई कुनै मौका नै दिएनन् । एपीएफका सन्तोष कुटवालले पनि गोल गरेपछि पेनाल्टी सुटआउट रोमाञ्चक बन्ने देखियो । त्यसपछि आएका एपीएफएका विक्की लामाले बार च्याप्दै हानेको पेनाल्टी सुट बाहिरिएपछि थ्रीस्टार जितको संघारमा पुग्यो । थ्रीस्टारका अनन्त तामाङले पेनाल्टी गोल गरेपछि फाईनल यात्रा तय हुदाँ एपीएफले चिसो मैदानमा सेमिफाईनलबाट चिस्सिदैं पोखराको यात्रालाई टुग्यायो ।

झरीले भिजेको मैदानमा दुवै टोलीको अपेक्षाकृत खेल दर्शकले हेर्ने अवसर भने पाएनन् । आफैं नियन्त्रण हुन कठिनाई भएको अवस्थामा निर्धारित ९० मिनेटमा दुवैले गोलरहित खेल्दै टुग्याएका थिए । केही अवसर सृजना गरेपनि गोलको खडेरी तोड्न भने दुवै टोलीले सकेनन् । खेलको १४ औं मिनेटमा सुनिल बलको क्रसलाई मार्टिनले प्रहार गर्न नसक्दा एपीएफका डिफेण्डरले क्लियर गरेका थिए । मार्टिनले एपीएफका गोलकिपरको हातबाट फुत्किएको बललाई पोष्टको दिशा दिनबाट चुक्न पुगे ।

रुपेश केसीले हानेको पावर सट बलपनि एपीएफका गोलकिपरले पन्च गर्दै सेभ गरे । थ्रीस्टारले कर्नरको अवसर पायो । दोस्रो हाफमा भने एपीएफले सुधारिएको खेल प्रस्तुत गर्दै प्रतिस्पर्धात्मक बनायो । ६० औं मिनेटमा आशिष तामाङको बललाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले पन्च सेभ गर्दै जोगाए । प्रदीप लामाले कर्नरबाट मिलाईदिएको पासलाई आशिषले सुपयोग गर्दै प्रहार गरेका थिए । थ्रीस्टारका फरवार्ड मार्टिनले अतिरिक्त समयमा गोल गर्ने सुनौलो अवसरलाई गुमाए ।

उनले हानेको बल एपीएफका डिफेण्डर रमेश दंगालको खुट्टामा छुदैं बाहिरियो । जुन थ्रीस्टारको अन्तिम अवसर पनि थियो । त्यसपछि रेफ्रीले निर्धारित समय टुंगिएको संकेत गरिदिए । थ्रीस्टारका अनन्त तामाङ म्यान अफ दि म्याच घोषित हुदैं नगद ५ हजार रुपैयाँ पुरस्कार थापे । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको बिहीबार त्रिभुवन आर्मीले डफिन्स फुटबल क्लब क्यामरुनसँग खेल्ने छ ।

kheladinews.com