रुविना क्षत्रीले ह्याट्रिक गरेपछि आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको ११७ रनको लक्ष्य पछ्याएको कुवेत २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रनमा समेटिने क्रममा रुविनाको ह्याट्रिक गरिन् ।
कुवेतका लागि कप्तान मार्याम ओमरले सर्वाधिक २९ बनाइन्। ३६ बलको सामना गरेकी ओमरले ३ चौंका प्रहार गरिन्। त्यस्तै प्रियादा मुरलीले ३७ बलमा १४ तथा सब्रिन जाकी र मरिआम्मा हेइदरले समान १२–१२ रनको योगदान दिए। मार्याम असरफ ४ र खादिजा खालिल १ रनमा आउट भएको इनिङमा ४ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए। कुवेतलाई सस्तैमा समेटन नेपालकी कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिइन्। उनले अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएकी थिइन्। ४ ओभर बलिङ गरेकी रुविनाले १७ रन खर्चिन्। करुना भण्डारीले ४ ओभरमा १२ रन दिँदै समान ३ विकेट नै लिइन्। त्यस्तै नेरी थापा र कविता कुँवरले एक–एक विकेट हात पारे।
यसअघि थाइल्याण्डको बैंककस्थित एसियन इन्टिच्युड अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। नेपालका लागि बिन्दु रावलले २८ रनको नटआउट पारी खेलिन्। ४९ बलको सामना गरेकी बिन्दुले १ चौंका प्रहार गरेकी थिइन्। कप्तान रुविना क्षेत्रीले २२ रन जोडिन्। उनले १३ बलमा ३ चौंका प्रहार गरिन्। त्यस्तै नेरी थापाले १९ बलमा ३ चौंकाको मद्दतमा १९ र काजोल श्रेष्ठले १६ बलमा २ चौंकाको सहायतामा १८ रनको योगदान दिइन्।
नेपालले ४६ रन हुँदा ५ विकेट गुमाएको थियो। तर, छैटौं विकेटका लागि बिन्दु र नेरीले ३७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे । बलिङतर्फ कुवेतकी मार्याम ओमर र प्रियादा मुरलीले समान २–२ तथा अम्ना तारिक र मदेहा जुबेरीले १–१विकेट लिए।




