घरेलु मैदानमा अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्रीस्टारले आहा रारा गोल्डकपको १७ औं सस्करणको सेमिफाईनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको सिक्किम युनाईटेडलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दा अनिलले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा आफनो नाम लेखाए ।
भुटानबाट उपविजेता बन्दै स्वदेश फर्किएको थ्रीस्टारले घरेलु मैदानमा अनिल गुरुङले आफुलाई महत्वपूर्ण खेलाडीको रुपमा फेरी एकपटक सिद्ध गरे । सोमबार पोखरा रंगशालामा सिक्किम विरुद्धको तेस्रो क्र्वाटरफाईनल खेलिरहेको थ्रीस्टारका लागि अनिलले पहिलो गोल भने पेनाल्टी मार्फत गर्दै शुरुवाती अग्रता दिलाए ।
शुशिल राईलाई पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई अनिल गुरुङले सदुपयोग गर्दै पहिलो हाफमै अग्रता दिलाए । कर्नर बललाई सिक्किमका गोलकिपरले पन्च गर्दै क्लियर गर्ने कोशिस गरे । पन्च गरेको बल सिक्स यार्ड बक्सभित्र खसेपछि राईले कलेक्ट गर्न खोज्दा सिक्किमका डिफेन्सले फउल हानेर लडाएपछि थ्रीस्टारले २६ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो ।
ह्याट्रिकको खोजीमा रहेका अनिलले घरेलु मैदानमा आफनो पुरानै फुटबल लयलाई कायमै राखे । पहिलो हाफमै उनले केही अवसरलाई गुमाए । यद्यपी उनकै गोलबाट लिएको अग्रता भने पहिलो हाफसम्म रहिरह्यो । १४ औं मिनेटमा सिक्किमका जसमन गुरुङले हानेको लङरेन्ज प्रहार गोलपोष्टभन्दा परबाट बाहिरिएको थियो ।
थ्रीस्टारले दोस्रो हाफमा हरेक समय सिक्किम माथि निकै दबाव बनाईराख्यो । ५० औं मिनेटमा थ्रीस्टारले गोलको उपहार पायो । अनिल गुरुङले हानेको क्रसबललाई सिक्किमका डिफेन्स जिग्मे दोर्जे भुटियाले क्लियर गर्न खोजेको बल गोलकिपरसँग ठोक्किएर फर्किएको थियो । त्यही फर्किएको बल डिफेन्स भुटियाको टाउकोमा लागेर पोष्टभित्र छिरेपछि थ्रीस्टारले खुशी मनाउने अर्को अवसर प्राप्त गर्यो । अनिलले ५३ औं मिनेटमा हानेको बाईसाईकल किक बल फष्टबारमा लागेर फर्किदाँ दुर्भाग्य बन्यो ।
६६ औं मिनेटमा अनिल गुरुङले हानेको बल पोष्ट नजिकैबाट बाहिरिदाँ अग्रता बढाउने अवसर फेरी एकपटक गुम्न पुग्यो । एकपछि अर्को मुभ बनाईराखेको थ्रीस्टारले ७० औं मिनेटमा अजयी मार्टिनले व्यक्तिगत गोल गर्दा थ्रीस्टारको खातामा ३–० को अन्तर देखिएको थियो । मार्टिनले डिफेन्सले ब्याक पास दिने क्रममा खोस्दै वान भर्सेस वानको अवस्थामा गोलकिपरलाई छलाउँदै खाली पोष्टमा गोल गरेका थिए ।
अनिल गुरुङले व्यक्तिगत दोस्रो गोल भने पेनाल्टी मार्फत नै सम्भब बनाए । ८१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै व्यक्तिगत दोस्रो गोल आफनो नाममा लेखाए । उनको ह्याट्रिक गर्ने सपना भने ८५ औं पुरा भयो । मार्टिनले डिबक्स भित्र छोटो माईनस गरेको बललाई सेकेण्डबार नजिकैबाट बल पोष्टभित्र छिरेपछि लामो समयपछि घरेलु मैदानमा घरेलु दर्शकले उनको ह्याट्रिक गरेको हेर्न अवसर जुर्यो । उनले ह्याट्रिक गरेपछि थ्रीस्टारले प्रतियोगिताकै फराकिलो अन्तरको जित निकाल्ने तर्फ लम्कियो अनिल खेलको म्यान अफ दि म्याच बन्दै नगद ५हजार रुपैयाँ पुरस्कार समेत थापे ।
८९ औं मिनेटमा सिक्किमले पनि थ्रीस्टार विरुद्ध गोल गर्दै आफना समर्थकलाई खुशी तुल्याउने प्रयास गरे । सोनाम छिरिङ भुटिया गोल गर्दै थ्रीस्टारसँगको अन्तरलाई केही कम गरे । अतिरिक्त समयमा सिक्किमले पेनाल्टीको अवसर पायो । जुन अवसरलाई छिरिङ लोप्चाले गोल गर्दै अन्तरलाई घटाउने अन्तिम प्रयासको रुपमा सदुपयोग गरे । तर जितको सम्भावनाबाट निकै टाढा थियो । पेनाल्टी ९० प्लस ३ मिनेटमा पाएको थियो । पाँच मिनेटको अतिरिक्त समय थपिएको थियो ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको १७औं सस्करणको आहा रारा गोल्डकपको अन्तिम क्र्वाटरफाईनल खेल भने क्यामरुनको डफिन्स फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने छ । दुवै टोली बुटवलमा आयोजित तिलोत्तमा गोल्डकपको फाईनल खेलेर मंगलबार विहान पोखरा आईपुग्ने छन् ।




