ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयनजिकै बम विस्फोटमा परी २ जना घाइते भएका छन् । बम विस्फोट कसले गराएको हो भन्ने नखुलेको प्रहरी मुख्यालयले जनाएको छ ।
शुक्रबार साँझ ८ बजे विस्फोट भएको हो । विस्फोटका कारण वरपरका घरका सिसा फुटेका छन् । प्रत्यक्षदर्शीले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
विष्फाेटमा परी घाइते भएका सिंह प्रसाद गुरुङ, प्रतीक्षा खड्का र उरुषा मानन्धरकाे मेडिसिटी
हस्पिटलमा उपचार जारी छ । घाइतेमध्ये गुरुङको अवस्था गम्भीर छ ।
बागलुङको एनसेल टावरमा पनि आगजनी
बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए । टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ । आगजनी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।




