विद्यालय होस् कि विश्वविद्यालय परीक्षा हुनु, पास वा फेल हुनु नियमित र सामान्य प्रक्रिया हुन् । फेल भएका विद्यार्थी पढ्न फेरि पढ्छन् । कम अंक ल्याउनेले अझ मेहनत गर्छन् र सफलता पाउँछन् । तर विडम्बना पोखरा विश्वविद्यालयका विद्यार्थीले विडम्बनापूर्ण हर्कत गरेका छन् ।
विद्यार्थीले नम्बर कम आएको झोकमा पदाधिकारी र कर्मचारीमाथि हातापात, गालीगलौजमात्र गरेनन्, स्ववियु कार्यालय, केन्द्रीय कार्यालय तोडफोड आगजनीसमेत गरे । यस्तो हर्कतमा ती विद्यार्थीमात्र संलग्न भएनन्, विद्यार्थी हकहितको नारा घन्काउने स्ववियु पदाधिकारी र विभिन्न संगठनका केन्द्रीय नेतासमेत संलग्न भएको प्रहरीको दाबी छ ।

घटनापछि विश्वविद्यालयमा असामान्य अवस्था सिर्जना भएकाले विश्वविद्यालयले शुक्रबार सबै निकाय बन्द गर्ने जनाएको छ । बिहीबार साँझ विज्ञप्ति निकालेर विश्वविद्यालयले यस्तो जनाएको हो । पोविका परीक्षा भने सुचारु हुनेछन् । बिहीबार दिउँसो बुधबार राति प्रकाशन भएको परीक्षाको नतिजाप्रति असन्तुष्ट विद्यार्थीले पोविको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, स्कुल अफ इन्जिनियरिङको भवन, स्ववियु कार्यालय लगायतमा तोडफोड गरेका थिए । तोडफोड गर्ने २२ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पोवि स्ववियु सभापति सुनील तिमिल्सिना, पोखरा इन्जिनियरिङ कलेजका स्ववियु सभापति किशोर सुवेदी, नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, पोवि स्ववियु सदस्यहरु नरेस खनाल, गणेश रिमाल, आशीष केसी लगायतलाई प्रहरीले पक्रेको हो ।
विद्यार्थीले विश्वविद्यालयको डिन कार्यालय र ग १ च ७१७८ नम्बरको गाडीको सिसा फुटाएका छन् भने र विभिन्न विभागका झ्यालका सिसा पनि तोडफोड गरेका छन् । तोडफोडमा संलग्न विद्यार्थीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
बुधबार राति इन्जिनियरिङतर्फ चौंथो वर्षको ७ औं सेमेस्टरका विद्यार्थीको परीक्षाफल प्रकाशन भएको थियो । परीक्षाफलमा अनियमितता भएको दाबी गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
विद्यार्थीले कापी परीषणमा लापरबाही भएको दाबी गर्दै फेरि परीक्षा लिनुपर्ने माग गरेका छन् ।




