बेगनास कप फुटबल फागुन १२ देखि

बेगनासतालको पर्यटन प्रबद्र्धन र वातावरण संरक्षण सहयोगार्थ बेगनासतालमा प्रथम सेभेन ए साइड बेगनास कप फुटबल प्रतियोगिता हुने भएको छ ।

‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने नाराका शिवरात्रिको अवसर पारेर बेगनास युवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बेगनास ताल बाँध नजिकै मैदानमा हुने प्रतियोगितामा ३५ टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खेलकुदमार्फत बेगनासलाई चिनाउन, खेलाडीको स्तर वृद्धि गर्न, मनोबल बढाउन , खेलाडी र सामाजिक संस्थाबीच सहकार्य गर्न तथा नयाँ खेलाडीलाई हौसला प्रदान गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबले जनाएको छ ।


फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार ५ सय ५५, द्वितीय हुनेले ५५ हजार ५ सय ५५, र तृतीय हुनेले १५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ८ हजार नगद प्राप्त गर्नेछ् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोलरक्षकले समान ५ हजार प्राप्त गर्ने बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न बेगनास युवा क्लबले फुटबल आयोजक मुल समिति बनाएको छ । प्रतियोगितामा ९ लाख ५० हजार आम्दानी तथा ८ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिता सञ्चालनका लागि पोखरा महानगरपालिका वडा नं ३१ वडा कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ, बेगनास बस सञ्चालक समिति, बेगनासताल डुंगा व्यवसायी समिति, जलेश्वर मन्दिर व्यवस्थापन समिति, बेगनास ताल महिला समूह, बेगनास मत्स्य व्यवसायी समिति र स्थानीयवासीकोे सहयोग रहेको प्रतियोगिता आयोजक मूल समिति संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।