नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कोइराला परिवारको बपौती नभएको बताएका छन् । कांग्रेस पर्साको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज भएको बताए । उनले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनैपर्छ भन्न पाइन्छ ?’
गत शनिवार वीरगन्जमा एकै मञ्चमा उपस्थित भएर महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु भावी नेतृत्वका लागि एकजुट भएको बताएका थिए । उनीहरूको सो भनाइप्रति लक्षित गर्दै देउवाले भने, ‘कांग्रेस पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदान छ, यो हामीले पनि स्विकार्छौँ’, देउवाले भने, ‘तर यो पार्टीमा बिपी र जिपीका छोरा, भतिजाको कुनै योगदान नै छैन ।
पार्टीमा कुनै योगदान नै नदिएकाहरूले कार्यकर्तामाझ जथाभावी बोल्दै हिँडेको देउवाको आरोप थियो । विशेषगरी शेखर कोइरालाप्रति देउवा आक्रामक देखिएका देउवाले भने, ‘पार्टीका लागि शेखरको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसेका छन् ? मण्डलेहरूले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ?’
जिपी कोइराला फाउन्डेसनको उक्त कार्यक्रममा कोइराला परिवारका तीनै नेताले सभापति देउवाका कारण पार्टी कमजोर बनेको आरोप लगाउँदै अब बलियो बनाउन एक भएको जिकिर गरेका थिए । भावी नेतृत्वलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र कोइराला परिवारबीच विवाद सुरु भएको प्रस्ट देखिएको छ ।




