तेश्रो कुँवर व्रदर्श एण्ड सन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधी काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ । आइतबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा काठमाण्डौको ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधी उचाल्यो । शनिबार हुने भनिएको फाईनल वर्षाकै कारण आईतबारको लागि सारिएको थियो ।
ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
कास्की जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा कास्कीका खेलाडी रबिन शाही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर घोषित हुँदै विशेष ट्रफी प्राप्त गरे । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोबिन्द पुरी, सोसल पव्लिकका संस्थापक खिम गुरुङ लगाएतले बिजेता टिम तथा खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवम नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुनलाई सम्मान गरिएको थियो । ४० वर्ष देखि माथी उमेर समुहका खेलाडीको रहेको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । काठमाडौको ठमेल युनाइटेड, तनहु जिल्ला बास्केटबल संघ, एक्स अम्बर सिंहको ए र बी, लामाचौर भेट्रान्स तथा आयोजक कास्की जिल्ला बास्केटबल संघको टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताका संयोजक नारायण प्रसाद शर्माले स्वास्थ शरीर र भाइचारको सम्बन्धलाई बलियो बनाउन तथा पोखरालाई खेलकुद पर्यटनका माध्यमबाट प्रवद्र्धन गर्न भेट्रान्स बास्केटबल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।
kheladinews.com




