मुखले लेखेर नन्दराज भट्टले गरे डिग्री

छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो ।

तर उनीँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए ।कारण थियो, जन्मजात शारीरिक अपाङ्गता ।

उनी अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो ।त्यसैले त उनका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए ।

जन्मिदा धेरैको हेपेको पात्र बन्नु भएका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरुका लागि मात्र होइन, सपाङ्गहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सफल भएका छन् । कारण हो, दुवै हातखुट्टा नभएर पनि उनले गरिरहेको संघर्ष र प्राप्त सफलता ।

२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३, मा दुवै हातखुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्ता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गरेका छन् । हातखुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल भएका उनी अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील छन् । उनकोे सक्रिय जीवनशैली हेर्दा लाग्छ, उनमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उनी सबलाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बनेका छन् ।

आफू जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको उनले निकै पछि थाहा पाए । ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्ने सुझाव समेत दिएछन्’ नन्दराज भन्छन्, ‘तर आमाबुवाको मन हो, आफैले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् ।’

परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उनले बताए । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रुपमा लिएर अघि बढ्नु पर्ने धारणा छ उनकोे ।

दुवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन भालेका छन् । यो सफलता प्राप्तिका लागि उनले जीवनदेखि हार नमानी कठिन संघर्ष गरेका छन् ।

दुवै हातखुट्टा नहुँदा शारीरिक कठिनाई त छँदै थियो । कतिपय आफन्त, साथीभाइले हेलाको रुपमा हेरे । तर उनले जीवनदेखि हार मानेनन्, बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाईसँगसँगै अन्य कार्यहरुलाई निरन्तरता दिए ।

‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले पनि साथ दिएको उनले बताउँछन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गरे ।

त्यसपछि बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना भए र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गरे ।