विद्यालयस्तरीय टी–२० क्रिकेटमा टप्स र हिमायनल, कुमुदिनी र प्रतिभा सेमिफाईनलमा

अन्तिम खेलमा पराजित भएपनि नेट रनरेटमा हिमालयन बोर्डिङ स्कुल नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । सेमिफाईनलमा शनिबार हिमालयनले टप्स माविसँग प्रतिस्पर्धा गर्ने पक्का गरेको हो ।

शुक्रबार जुनियर सिटिजन्स एकेडेमीसँग १२ रनले पराजित भएको हिमालयन नेट रनरेटकै आधारमा सेमिफाईनल सुरक्षित हुदाँ एकेडेमी भने अभागी बन्न पुग्यो । समूह डी अन्तर्गतको तीन टोलीमा सबैटोलीले एक एक खेल जितेका थिए । तर रनरेटको आधारमा हिमालयनले सेमिफाईनलमा स्थान बनायो । टस जितेर हिमालयन क्षेत्ररक्षणमा जुटेपछि व्याटिङ गरेको जुनियर सिटिजन्स एकेडेमीले निर्धारित २० ओभरमा ११२ रनको लक्ष्य प्रस्तुत गर्यो ।

प्रेम गुरुङको अर्धशकतीय पारीमा एकेडेमीले सम्मानजनक स्कोर बनाएको थियो । उनले ५४ रन बनाए । रचिन मगरले १३ रनको योगदान दिए । ११३ रनको लक्ष्य पछ्याएको हिमालयन बोर्डिङ भने १०० रनमा समेटियो । अमन थापाले ३० रन, मनोहर ठाकुरले २५ र मनोज ठाकुरले १८ रनको योगदानको योगदान गरे । अमन थापाले एकेडेमीका चार व्याट्सम्यानलाई आउट गर्ने क्रममा २० रन खर्चिए । आदित्य थापाले पनि १९ रनको खर्चमा ३ विकेट लिए । तर खेलमा जे४ स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने प्रेम गुरुङ बने । उनले दुई विकेट लिएका थिए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पाष्कलले सृजना बोर्डिङ माथि ७९ रनले पराजित गर्यो । प्रतिष्ठाको खेलमा पाष्कलले १४२ रनको स्कोर बनाउँदै जितको लागि सृजनालाई व्याटिङको निम्तो दियो ।

किरण पौडेलले ४७ रनको इनिङ्स खेल्दै फराकिलो स्कोर बन्न पुगेको थियो । विल्सन थापाले २६ र विक्रम क्षत्रीले २२ रन अविजित हिर्काए । सृजनाले १४३ रनको लक्ष्य पछ्याउने क्रममा केवल १६.३ ओभर खेल्दै केवल ६३ रन मात्रै बनाउन सक्यो । हिक्मतस सुवेदीले मात्रै १३ रनको दोहोरो आँकडा छुन सके । खेलमा किरण पौडेल जे४ स्पोर्टस म्यान अफ दि म्याच घोषित भए । शनिबारको सेमिफाईनल खेल प्रतिभा बोर्डिङले कुमुदिनी होम्ससँग खेल्ने छ भने दोस्रो सेमिफाईनल हिमालनय बोर्डिङले टप्स माविसँग खेल्ने छ ।

kheladinews.com