प्रदेशस्तरीय छनोट, हाईजम्पमा कास्कीलाई महिला तथा पुरुष इभेण्टमा स्वर्ण

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरी छनोट प्रतियोगिताको पहिलो दिन शुक्रबार एथलेटिक्स तर्फ महिला तथा पुरुष हाईजम्पमा कास्कीले स्वर्ण पदक जितेको छ ।

शुक्रबारदेखि शुरु भएको छनोट प्रतियोगितामा एथलेटिक्सको पुरुष हाईजम्प तर्फको प्रतिस्पर्धामा भने कास्कीका सागर नेपालीले स्वर्ण पदक जिते । उनले १.६५ मिटर जम्प गर्दै स्वर्ण पदक जित्दा लमजुङका आदित्य थापामगरले १.६३ मिटर उफ्रिदैं रजत पदक र नवलपुरका समीर महतोले १.५६ मिटर जम्प गरेर कास्य पदक जिते ।

महिला तर्फको प्रतिस्पर्धामा भने कास्कीकी कुसुम रानामगरले १.२५ मिटरको उचाई जम्प गरेर स्वण पदक आफनो नाममा लेखाईन् । गोरखाकी सबिना परियारले रजत पदक जितिन् । उनले १.२३ मिटरको उचाई पार गरिन् । कास्य पदक भने लमजुङकी लक्ष्मी परियारको नाममा रह्यो । उनले १.२० मिटर जम्प गरेकी थिईन् ।

बाग्लुङले पहिलो स्वर्ण आफनो नाममा लेखाउने क्रममा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले ३५ मिनेट २०.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । पर्वतका प्रकाश कुँवर दोस्रो र तनहुँका सुरेन्द्र चापागाई तेस्रो स्थानमा रहे । उनीहरुले क्रमश ३५ मिनेट ४९ सेकेण्ड र ३६ मिनेट ४ सेकेण्डको समय लगाएका थिए ।

महिला तर्फको १० किलोमिटर दौडमा नवलपुरकी डोलमाया महतोले ४५ मिनेट ५५.६ सेकेण्डमा पुरा गर्दै स्वर्णपदक जितिन् । त्यसैगरी म्याग्दीकी सोनिया बरुवाले ५१ मिनेट ४५.६ सेकेण्डमा पुरा गर्दै रजत र स्याङजाकी दिया गैह्रेले ५२ मिनेट ३०.६ सेकेण्डको समय लगाउँदै कास्य पदकमा चित्त बुझाए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालित छनोट प्रतियोगितामा ११ जिल्लाका २८७७ खेलाडीले ३५ खेलमा सहभागिता जनाएका छन् । कास्कीबाट सबैभन्दा बढी पुरुष तर्फ २५५ र महिला तर्फ २१६ जना खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार मनाङबाट सबैभन्दा कम ४३ पुरुष र १४ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

source: kheladinews