प्रदेशस्तरीय छनोटको पहिलो स्वर्ण बाग्लुङका धावक शेरचनलाई

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरी छनोट अन्तर्गत बाग्लुङले पहिलो स्वर्ण आफनो नाममा लेखाएको छ ।

शुक्रबारदेखि शुरु भएको छनोट प्रतियोगितामा एथलेटिक्स १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले ३५ मिनेट २०.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । पर्वतका प्रकाश कुँवर दोस्रो र तनहुँका सुरेन्द्र चापागाई तेस्रो स्थानमा रहे । उनीहरुले क्रमश ३५ मिनेट ४९ सेकेण्ड र ३६ मिनेट ४ सेकेण्डको समय लगाएका थिए ।

महिला तर्फको १० किलोमिटर दौडमा नवलपुरकी डोलमाया महतोले ४५ मिनेट ५५.६ सेकेण्डमा पुरा गर्दै स्वर्णपदक जितिन् । त्यसैगरी म्याग्दीकी सोनिया बरुवाले ५१ मिनेट ४५.६ सेकेण्डमा पुरा गर्दै रजत र स्याङजाकी दिया गैह्रेले ५२ मिनेट ३०.६ सेकेण्डको समय लगाउँदै कास्य पदकमा चित्त बुझाए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालित छनोट प्रतियोगितामा ११ जिल्लाका २८७७ खेलाडीले ३५ खेलमा सहभागिता जनाएका छन् । कास्कीबाट सबैभन्दा बढी पुरुष तर्फ २५५ र महिला तर्फ २१६ जना खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार मनाङबाट सबैभन्दा कम ४३ पुरुष र १४ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

source:kheladi news