३२ वर्षपछि रक्तिमबाट जीवन शर्माको बिदाइ

चर्चित जनवादी गायक जीवन शर्माले अन्तत नेकपा मसालको भातृ संगठन रक्तिम सांस्कृतिक समूहबाट राजीनामा दिएका छन् । अध्यक्ष समेत रहेका गायक शर्माले दुई दिनअघि पेस गरेको राजीनामा बुधबार पोखरामा बसेको केन्द्रीय कमिटीको बैठकले स्वीकृत गरेको हो । । उनले आफनो व्यस्तता र उमेरको कारण देखाउँदै राजीनामा दिएका थिए । तर केन्द्रीय समितिले उनको राजीनामा बहुमतले अस्वीकृत गरेको थियो ।

बुधबार फेरि बसेको बैठकमा आफनो राजीनामा स्वीकृत गर्न पुन : आग्रह गरेपछि उनको राजीनामा स्वीकृत भएको हो । विसं ०४३ सालमा स्थापना भएको रक्तिम समूहमा शर्मा संस्थापक अध्यक्ष थिए । त्यसयता उनी निरन्तर यो पदमा छन् । संगठनको तेस्रो राष्ट्रिय सम्मेलन अगाडि पनि उनले राजीनामा दिएका थिए, तर स्वीकृत भएको थिएन ।

प्रगतिशील गायक कोरुपमा पनि चिनिने गायक शर्माले “सिमली छायामा बसी”, “झरनाको चिसो पानी”, “सालघारीमा”, “सामन्तले”, “लडाईँको मैदानबाट”  जस्ता गीतहरु गाईसकेका छन् । यसअघि गायक शर्माले पार्टी हितविपरित जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागि कार्यक्रममा सहभागि भएर गीत प्रस्तुत गरेकोलगायतका आरोप लगाउँदै पार्टीबाट निलम्बित गरिएको खबर बाहिरिएको थियो ।