राडी बेच्न ओखलढुङ्गाबाट काठमाडौँ,वार्षिक रु १२ लाखसम्म कमाइ

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौँ आए। चालीस राडी ल्याएर आएका गुरुङले पुरै बेच्न लागेका छन्। ललितपुरको मङ्गलबजारमा भेटिएका गुरुङ साथीकहाँ बस्दै आएका छन। 

वर्षेनी गुरुङ वर्षायाममा घरमा बसेर राडी बनाउँछन्। हिउँदमा देशका विभिन्न शहरमा पुगेर बेच्ने गर्छन्। उनी मात्रै होइन, परिवारका अन्य सदस्यले समेत राडी बनाउने गर्छन्। राडी बेच्न भने उनी विभिन्न शहर नै धाउँछन्।

“पन्ध्र/सोह्र वर्षको उमेरदेखि नै बुबाको पछि लागेर राडी बेच्न हिँड्न थालेको हुँ”, गुरुङले भने। गाउँका धेरै युवा विदेश पुगेपनि आफूलाई यही बसेर पुख्र्यौली काम गरिरहँदा गर्व लाग्ने उनले बताए। “बाबुबाजेका पालादेखि गरेका काम आफूले गर्ने र सन्तानलाई सिकाउँदा खुसी लाग्छ”, उनले भने। 

गुरुङ राडी बेच्न काठमाडौँ, धरान, झापा, मोरङ, नेपालगञ्जलगायत शहरसम्म पुग्छन्। साथीभाइ र आफन्त भएका ठाउँमा उनीहरुकै कोठामा तथा नभएका ठाउँमा होटल र लजमा बस्छन्। उनी राडी बेच्ने क्रममा ५० जिल्ला पुगिसकेका छन्।“वार्षिक रु १२ लाखसम्म कमाइ हुन्छ”, उनले भने। त्यही पैसाबाट उनले राडी बनाउन ऊन किन्छन्। राडी बेचेर आएको पैसाबाट नै होटलमा बस्ने र भाडा तिर्ने गरेको उनले बताए। गाउँमा बसेर अरु काम गर्नुभन्दा यसमा आम्दानी राम्रो भएको उनको अनुभव छ। 

युवापुस्ताले राडी खासै नरुचाएको गुरुङको अनुभव छ। बुढापाकाले मात्रै रुचाउने हुँदा अहिलेसम्म बजार पाए पनि भविष्यमा नपाउने हो कि भन्ने चिन्ता उनमा छ। “विदेशमा बनेका महङ्गा ओड्ने ओच्छाउनेभन्दा यसको फाइदा धेरै छ” उनले भने। राडी बनाउन भेडाको ऊन किन्न टाढाटाढासम्म पुग्नुपर्ने हुन्छ। केही वर्ष पहिलेसम्म उनको गाउँमै भेँडापालन गरिन्थ्यो। गाउँमै ऊन पाइने हुँदा सजिलो भए पनि अहिले ऊनका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ। 

सामुदायिक वनमा खुलारूपमा वस्तुभाउ चराउन नपाउँदा धेरैले पशुपालन छाडिसकेको गुरुङले बताए। भेँडाको ऊनलाई धोइपखाली गरी सुकाएपछि त्यसलाई कपासजस्तै गरेर फिट्नु पर्छ। त्यसपछि डोरीजस्तै बाट्ने र तान बनाएर राडी बनाउने गरिन्छ। एउटा परिवारका पाँच/छ जनासम्म खटिँदा १० देखि १२ दिनसम्ममा एउटा राडी बन्छ। युवापुस्ता विदेश जान थालेपछि राडी बनाउनेको सङ्ख्या घट्दै गएको गुरुङ बताउँछन्।