अन्तर लायन्स फुटबल फागुन २ बाट

यही फागुन २ देखि ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा लायन्स डिस्ट्रिक ३२५ बि १ अन्तर्गतका लायन्स क्लबबीच दोस्रो संस्करणको फुटबल प्रतियोगिता हुन लागेको डाउन टाउनका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

लायन्स क्लबका सदस्यबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यस वर्ष डिस्ट्रिक बाहेका क्लबलाई पनिसहभागी गराउने प्रयास गरिएको उनले बताए ।

पोखरा१ टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५, सिल्ड तथा प्रमाणपत्र र उपविजेताले ३३ हजार ३ सय ३३ सहित सिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

प्रतियोगितामा करिब २० टिमको सहभागिता रहने अपेक्षा आयोजकको छ । प्रतियोगिता गर्न पौडेलको संयोजकत्वमा ४४ वटा उपसमिति गठन गरिएको छ । प्रतियोगिता गर्न ६ लाख २८ हजार ८ सय ८८ खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले बताए ।