घाइते श्रीमती हत्या आरोपमा पक्राउ

सुखदुखमा जीवनभर साथ दिने बाचा गरेका श्रीमान नै श्रीमती हत्या आरोपमा पक्रा परेका छन् । बिरामी श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाका श्रीमानसहित अर्का १ जनालाई पक्राउ गरेको छ ।

पोखरा १४ चाउथेकी ४३ वर्षीया सुशीला कार्कीको उपचारको क्रममा गएको माघ २४ गते ज्यान गएको थियो । अस्पतालले मृत घोषणा गरेपछि उनका आफन्तले दिएको उजुरीको आधारमा ४६ वर्षीय रामबहादुर र घटनामा संलग्न भएको आरोपमा देवी रानभाटलाई प्रहरीले पक्रेको हो ।

सुशीलाको निधन भएकै दिन उनका आफन्तले रामबहादुरले दिएको यातनाका कारण मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । रामबहादुरलाई सोही दिन पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

आरोपीलाई पक्राउ गरी माघ २७ गते कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । गएको पुस १२ गते रामबहादुरको कुटाइबाट घाइते भएकी सुशीलालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

अस्पतालले प्यारालाइसिस भएको भन्दै थेरापी गर्न सुझाएपछि पोखरास्थित स्पर्श आयुर्वेद अस्पतालमा लगियो । थप उपचारका लागि भन्दै पुनः आयुर्वेदबाट गण्डकी मेडिकल कलेज पु¥याइएकी सुशीलाको उपचारकै क्रममा गत माघ २४ गते अस्पतालले मृत घोषणा गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन् ।