फागुन २६ बाट पालुङटारमा मेयर कप फुटबल

पालुंटार नगरपालिकामा लिगलिग पालुंटार मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

फुटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला मै पहिलो पटक स्थानीय तहले प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

२ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ प्रथम पुरस्कार राशीको प्रतियोगिता आगामी फागुन २६ गतेदेखि चैत ६ गतेसम्म सञ्चालन हुने आयोजक समितिका सदस्य सचिव किरण गिरीले जानकारी दिए ।प्रतियोगितामा गण्डकी प्रदेशका २६ र जिल्लाका ९ गाउँपालिका गरी ३५ टिमको सहभागिता रहने अनुमान गरिएको खेलमा दोस्रो हुने टिमले नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ नगद मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने २ टिमलाई नगद ५४ हजार ३ सय २१ रुपैयाँ सहित नगद मेडल र प्रमाणपत्र प्रदान गरिने गिरीले बताए । प्रतियोगिता सञ्चालनका लागि २६ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान आयोजकको छ ।

नगरपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोग रहेको प्रतियोगितामा प्रायोजक, सहप्रयोजक र शुभेच्छुकबाट आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । खेलकुद क्षेत्रको संस्थागत विकास गर्दै पालुंटार नगरपालिकामा खेल एकेडेमीको निर्माण गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा पालुंटार नगरपालिकाका मयेर दीपकबाबु कँडेलले नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट बिनियोजन गरेको जानकारी दिए । ‘हामीले यो नगरपालिकालाई खेल टुरिजममार्फत विकास गर्न चाहेका छौं, उनले भने, ‘त्यसका लागि पनि मेयर कप पहिलो सुरुआत हो ।

’ स्थानीय तह भएपछि जिल्लामा पहिलो पटक पालुंटारमा पालिकास्तरीय प्रतियोगिता हुन लागेको हो । पालुंटारस्थित हवाई मैदानमा हुने प्रतियोगिता आयोजनाका लागि नगरप्रमुख कडेंलको संयोजकत्वमा ५१ सदस्य मूल आयोजक समिति र १७ वटा उपसमिति गठन गरी तयारीमा लागेको पत्रकार सम्मेलनमा बताइएको छ ।