डफिन्सलाई मनकामना केवलकार पोखरा कप उपाधि

१४ वर्षपछि पोखराको फुटबल मैदानबाट फुटबलको उपाधि विदेशिएको छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको क्यामरुनको डफिन्स क्लब परिवारले उपाधि जित्यो । पोखरा कपको छैटौं सस्करण मनकामना केवलकार पोखरा कपको उपाधि उचाल्न क्यामरुनले ५४ औं मिनेटमा निर्णायक गोल गर्यो ।

यान्निकले डिबक्स भित्र पाएको पासलाई डिफेन्सलाई विट गर्दै गोल गरेपछि उपाधि पक्का हुदाँ एपीएफले उपविजेतमै चित्त बुझाएर आईतबार पोखराको मैदानबाट विदाई लियो । कास्की जिल्ला फुटबल संघले पनि फाईनलको उपाधिसहित दुवै टिमलाई बिदाई गर्दै प्रतियोगितालाई विट मार्यो ।

पोखराकै मैदानमा १४ वर्षअघि आहा राराको तेस्रो सस्करणमा अफ्रिकन युनाईटेडले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यही झल्को आईतबार देखियो । क्यामरुनी टोलीले पहिलो सहभागितामै उपाधि हत्याउँदा एपीएफ भने उपविजेतामै सीमित रह्यो । शारीरिक रुपले बलिया अफ्रिकन खेलाडी सामु कडा चुनौति पेश गर्दै पहिलो हाफ गोलरहित टुग्याएका थिए । एकपछि अर्को गोलको रणनीति बुनेको क्यामरुनी टोलीले सफलता भने दोस्रो हाफमा आएर प्राप्त गर्यो ।

पहिलो हाफमा डफिन्सले पाँच कर्नर पायो । एपीएफले तीन फ्रिकिकको अवसर जुरायो । तर अवसर दुवैले सदुपयोग गर्नबाट चुके । दर्शकको उपस्थिति पनि बाक्लिन नसक्दा फुटबलप्रतिको अभिरुचि पनि घटेको अनुभव हुन्थ्यो । प्यारापिट विहीन फुटबल मैदानमा सर्वसाधारण दर्शकको उपस्थिति खासै बाक्लिन सकेन् । दोस्रो हाफमा डफिन्सले केही मुभ बनायो । त्यसको प्रतिरक्षामै व्यस्त रह्यो एपीएफका खेलाडी । खेलमा म्यान अफ दि म्याचको पुरस्कारबाट यान्निक सम्मानित भए ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौं सस्करण मनकामना केवलकार पोखरा कपमा पोखराको फुटबल विकासमा योगदान दिएको भन्दै पोखराका उत्तम गुरुङलाई स्कुटर प्रदान गरिएको छ । फुटबल संघले प्रदान गर्ने पत्रकारिता पुरस्कार भने नागरिककर्मी उमेश पुनलाई प्रदान गरिएको छ ।

एपीएफका गोलकिपर राजु नगरकोटीले उत्कृष्ठ खेलाडी र उत्कृष्ष्ठ गोलकिपरको पुरस्कार थापे । उनले पुरस्कार स्वरुप यामहाको मोटरसाईकल प्राप्त गरे । उत्कृष्ठ डिफेन्सबाट एपीएफकै रमेश दंगाल घोषित भए । उत्कृष्ठ मिडफिल्डको पुरस्कार भने मनाङ मस्र्याङ्दीका हेमन्त गुरुङ भए । उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने क्यामरुनका यान्निक घोषित भए । उत्कृष्ठ प्रशिक्षक भने एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ घोषित भएका छन् ।

सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरियो । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

उत्कृष्ठ विधाको पुरस्कार भने कास्की जिल्ला फुटबल संघमा आवद्ध शितलज्योति युवा कलब, विष्णुपादुका क्लब हेमजा, ड्यामसाईड क्लब, हेमजा युनाईटेड, डेविजफल युवा क्लब र भदौरे युवाक्लबले गरेका थिए । विजेता तथा उपविजेता खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

www.kheladinews.com