ओलीको मन्त्री मण्डल भ्रष्टको क्लब : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारको मन्त्रीमण्डल भ्रष्टको क्लब भएको आरोप लगाएका छन् । पार्टीका पूर्वसभापति सुशील कोइरालाको चौंथो स्मृतिमा कांग्रेस गोरखाले शनिबार आयोजना गरेको विचार गोष्ठीमा नेता थापाले पछिल्लो समय एकपछि अर्काे गरी सरकारका मन्त्री नै भ्रष्टाचार काण्डमा मुछिँदै गएको बताए ।

‘देश भ्रष्टाचारको चंगुलमा फस्यो, दलाल, माफिया र भ्रष्टहरुले देश डुवाए’ उनले भने ‘एकपछि अर्को गरेर भ्रष्टाचार काण्डमा मन्त्रीहरु नै संलग्न भएको तथ्य बाहिरिँदैछन्, यो सरकार भ्रष्टको क्लब बन्दैछ ।’

वाइडबडी, फोर जी लगायतका काण्डमा मन्त्रीले नै मोटो रकम भ्रष्टाचार गरेको तथ्य सार्वजानिक हुँदा प्रधानमन्त्री केपी शर्मा ओली संरक्षकको भूमिकामा देखिनु लोकतन्त्र र संविधान नै संकटमा बनाउनु हो भन्दै नेता थापाले भने, ‘देशको अर्थतन्त्र सखाप बन्यो ।’ पार्टीमा आबद्ध दलाल, माफियालाई संरक्षण गरेर नेकपा सरकारले संस्थागत भ्रष्टाचार गरेको उनको भनाइ छ ।

देशमा असहज अवस्था सिर्जना हँुदै गएको भन्दै उनले देश दुर्घटनामा पर्ने खतरा बढेको बताए । ‘पछिल्लो समय देश संकटैसंकटमा गुज्रिरहेको छ, चुनौतीका भारीले थिचिएको छ,’ थापाले भने ‘सरकार चलाउने पार्टीबाटै खतरा बढ्यो, अब देश जोगाउने जिम्मेवारी नेपाली कांग्रेसमा आएको छ, जनताले यो कुरा बुझ्न जरुरी छ ।’

अहिलेको सरकार इतिहासकै शक्तिशाली सरकार रहेपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उनले बताए । निर्मला पन्तको बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले देशमा विश्वासको खडेरी परेको बताएका छन् ।

‘निर्मला पन्तको बलात्कार र हत्या भएको सयौं दिन भयो, डाक्टर गोविन्द केसी पटकौं अनसन बसे, उनीहरुको माग सम्बोधन गर्नुको साटो यिनीलाई कांग्रेसले उचाल्यो, षड्यन्त्र ग¥यो भन्दै हिड्ने हो ?’ प्रश्न गर्दै थापाले भने ‘सरकारले इमान्दारिता र विश्वास गुमाएको छ ।’

ओली सरकारले योजनाबिना नै रेल, पाइपबाट ग्यास र हावाबाट बिजुली निकाल्ने कुरा गरेर जनतालाई झुक्याउन खोजेको नेता थापाको आरोप छ । प्रधानमन्त्रीसँग इकोनोमिक भिजन नै नरहेको बताउँदै उनले हावादारी कुरा गरेर देशमा आर्थिक संकट निम्त्याउन खोजेको आरोप लगाएका छन् । ‘चुच्चे रेल, हावाबाट बिजुली र घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा असम्भव हुँदै होइन, उहाँले ठिकै भन्नु भएको हो, उडाउनुपर्ने कुरा छैन,’ उनले थपे ‘तर यो अवस्था र परिवेशमा यो विषय ल्याउनु कत्तिको सुझबुझ अनुसार छ त्यो ठूलो कुरा हो, सरकारले काममा ढंग नपु¥याउँदा देशको आर्थिक अवस्था टाट पल्ँिटदैछ ।’

कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गोरखाले सदरमुकाममा आयोजना गरेको वर्तमान राजनैतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक छलफलमा उनले यस्तो बताएका हुन् ।