क्यामरुनी टोली पोखरा कप फाईनलमा

लिग च्याम्पियन सिक्नेचर मनाङ मस्र्याङ्दीको चुनौतिलाई सडन डेथमा पन्छाउँदै पहिलो पटक सहभागि बनेको पाहुना टोली क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको फाईनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा सडन डेथमा क्यामरुनी टोलीले मनाङमाथि ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि निकट पुग्यो ।

निर्धारित समय र थपिएको समयमा १–१ गोलको बराबरी पछि निर्णय पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि ५–५ ले प्रहार गर्दा समान ४–४ गोल हुन पुग्यो । दुवै तर्फ एक एक खेलाडीको पेनाल्टी चुकेपछि निर्णय फेरी सडन डेथ तर्फ धकेलियो । सडन डेथमा मनाङका विमल रानाको प्रहार बाहिरिएपछि उपाधि होडबाट बाहिरिन पुग्यो । क्यामरुनी अन्तिम पेनाल्टी हानेका जो अंगोालो प्रहार गोलमा परिणत भएपछि १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोली फाईनल खेल्ने सपना साकार बन्यो ।

निर्धारित समयमा कमब्याक गरेको मनाङ पेनाल्टीमा चुक्दा उपाधि उचाल्ने सपना पोखराको मैदानमा साँझपरेसँगै अध्याँरो बनिदियो । ६६ औं मिनेटमा क्यामरुनी टोलीले गोलको खाता खोल्दै दबावमा परेको मनाङले खेल सकिन दशमिनेट अघि मात्रै गोल फर्काए । बराबरीले खेल रोमाञ्चक मोडमा आईपुग्यो ।

६६ औं मिनेटमा इकुमको लङपासलाई उरेल इनामेले हानेको हेडिङ गोलमा परिणत भएपछि हिलाम्य मैदानमा क्यामरुनी टोलीले स्पष्ट अग्रता लियो । शारीरिक रुपमा निकै बलिया क्यामरुनी टोली अघि केही छरितो प्रदर्शन गर्दै सम्हालिएको मनाङले गोल भने ८० औं मिनेटमा फर्काउँदै आफुलाई उत्कृष्ठताको संकेत देखायो । विमल रानाको पासलाई अफ्रिकन खेलाडी ओलावालेको हेडबल गोलमा परिणत भएपछि मनाङले निर्धारित समय बराबरीमा टुग्याउँदै दर्शकको मनोबल साथमा लिईरह्यो ।

निर्धारित समयमा एक एक गोल गरेपछि उत्साहित मनाङले थपिएको समयमा अफ्रिकन रणनीतिलाई बुझ्दै गोल गर्ने अवसरबाट बन्चित बनाईराख्यो । थपिएको समयमा गोलरहित खेलेपछि रेफ्रीले निर्णय पेनाल्टीको संकेत गरे । तर पेनाल्टी हुदैं सडन डेथमा अभागी मनाङ प्रतियोगिताबाट चिप्लियो ।

पेनाल्टी सुटआउटमा कप्तान सुजल श्रेष्ठ, अन्जन विष्ट,कमल श्रेष्ठ हेमन्त गुरुङको प्रहार गोलमा परिणत भएपछि मनाङको आशा त्यतिबेलासम्म जिवित रह्यो । तर सुरज विकको प्रहार खेर गएपछि केहीबेर खिन्न हुन पुग्यो । सडन डेथमा पुगेपछि विमल रानाको पेनाल्टी गुमाएपछि मनाङको पोखराको मैदानमा नकाउट फुटबलको फाईनल खेल्ने ढोका बन्द भयो । क्यामरुनका लागि बिईक बिईक, इकुम, यान्निक ओवोना र गोलकिपर प्रिसो एनडीजान्गाले प्रहार गरे । समान गोलपछि केही उत्साहित बनेको क्यारुमनी टोलीका लागि विभ्लामको प्रहार खेर गएपछि सडन डेथ निश्चित बन्यो । सडन डेथमा जो अंगोलोको प्रहारले सही दिशा लिएपछि क्यामरुनी टोलीले खुशीयाली मनायो । पोखराको मैदानमा १४ वर्षपछि अफ्रिकन टोली फाईनल खेल्ने छ । आहा रारा गोल्डकपको तेस्रो संस्करणमा अफ्रिकन युनाईटेडले नेपाल पुलिस क्लबसँग फाईनल खेल्दै उपाधि उचालेको थियो । जुन झल्को आईतबार पोखराको मैदानमा देखिने पक्का छ ।

खेलको २१ औं मिनेटमा क्यामरुनी टोलीले मनाङ पोष्ट आक्रमण शुरु गर्यो । फ्रिकिकलाई ओको बोटाले सिधै मनाङका गोलकिपर विशाल श्रेष्ठकै हातमा पुर्याईदिए । ३५ औ मिनेटमा फेरी अर्को आक्रमणको रणनीति बुन्यो । जो अंगोलोले हानेको बल डिफेन्सले क्लियर गर्न नसक्दा रिवाउण्ड हुदाँ नियोले हानेको पावरसट बल क्रसबार माथिबाट बाहिरियो । जर्सी जुधेपछि टस हारेको क्यामरुनी टोलीले पोखराको जर्सीमा मैदान उत्रिएको थियो ।

३८ औं मिनेटमा इकुमले पनि हानेको फ्रिकिक मनाङका गोलकिपरकै हातमा पुग्दा पहिलो हाफमा अग्रता लिने अवसर भने क्यामरुनी टोलीले गुमाउन पुग्यो । मनाङले पनि पहिलो हाफ केही आक्रमण गर्ने अवसरको खोजीमा रह्यो । ३९ औं मिनेटमा हेमन्त गुरुङको फ्रिकिक बल अग्ला कदका क्यामरुनी खेलाडीले जम्प क्याच गरे । पहिलो हाफको अतिरिक्त समयमा प्रकाश भट्टराईले हानेको क्रस बललाई कप्तान सुजल श्रेष्ठको हेडिङ क्रसबाट माथिबाट बहिरियो । जुन मनाङको लागि कर्नरको अवसर समेत रह्यो । तर उपयोग भने हुन सकेन् । मैदानमा मनाङले आफनो आशातित प्रदर्शन गर्न भने सकेन् । हिलाम्मे मैदानकै कारण दर्शकले पनि अपेक्षाकृत प्रतिस्पर्धा हेर्ने अवसर भने पाएनन् । यद्यपी निर्धारित र थपिएको समयसँगै पेनाल्टीसम्म नियाल्ने अवसर भने पाएका थिए ।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौं सस्करण मनकामना केवलकार पोखराकपको फाईनल आज आईतबार क्यामरुनी टोली डफिन्स फुटबल क्लब परिवारले उपाधिको लागि शसस्त्र प्रहरी बलसँग खेल्ने छ । सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ विधाको पुरस्कार भने कास्की जिल्ला फुटबल संघमा आवद्ध पाँच क्लबले प्रायोजन गरेका छन् ।