झरीले रोक्यो विद्यालयस्तरीय टी–२० क्रिकेट, कहिलेलाई स¥यो त प्रतियोगिता ?

आज शनिबारदेखि हुने भनिएको विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता वर्षाका कारण स्थगित गरिएको छ । निरन्तर परेको पानीले मैदानमा भिजेको कारण आज हुने भनिएको दुई खेल स्थगित गरिएको ह्वाई वरी इभेण्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा तथा ह्वाई वरी इभेण्ट म्यानेजमेन्ट प्रालिको संयोजन र व्यवस्थापनमा प्रतियोगिता पोखरा रंगशाला क्रिकेट मैदानमा आईतबारदेखि शुरु गरिने छ ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल कुमुदिनी होम्सले अमरसिंह नमूना माविसँग खेल्ने छ भने दोस्रो खेल मदरल्याण्डले हिमाञ्चल बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्ने ह्वाई वरी इभेण्ट मेनेजमेन्ट प्रालिका निर्देशक विधान श्रेष्ठले जानकारी दिए । उनले वर्षाकै कारण आईतबारको लागि खेल सारिएको जानकारी गराए ।

नेप्लिज इनकाउन्र्टस एजुकेशनको मुख्य प्रायोजनामा हुने प्रतियोगितामा १२ विद्यालयको सहभागिता रहेको छ । कुमुदिनी होम्स, अमरसिंह नमूना मावि, मदरल्याण्ड बोर्डिङ, हिमाञ्चल बोर्डिङ, पास्कल, प्रतिभा बोर्डिङ, हिमालयन, नेपाल भारत मैत्री विद्यालय, टप्स, सृजना, जनप्रिय र जुनियर सिटीजन्य एकेडेमीको सहभागिता रहेको छ ।

विजेताले २५ हजार नगद राशी पुरस्कार स्वरुप पाउने छ भने उपविजेताले १५ हजार नगद राशीको पुरस्कार प्राप्त गर्ने छ । विधागत रुपमा बेष्ट व्याट्सम्यान, बेष्ट बलर, म्यान अफ दि सिरिज र इमर्जिङ प्लयेर तथा खेलको म्यान अफ दि म्याचको पुरस्कार समेत प्रदान गरिने छ । । उनले प्रतियोगिताको लागि ५ लाख रुपैयाँ खर्च हुने समेत जानकारी गराए ।

२०६५ सालमा पोखरा रंगशालाभित्र क्रिकेट मैदान निर्माण शुरु गरिएको थियो । झण्डै दुई वर्षपछि मैदान तयार गरियो । मैदान तयारपछि पोखरामा २०६८ सालमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएपछि लगातार क्रिकेटको नियमित प्रतियोगिता सञ्चालन हुदैं आएको छ । पोखरा रंगशालाभित्र क्रिकेट मैदान निर्माणपछि आयोजना गरिएको पहिलो राष्ट्रिय प्रतियोगिता समेत त्यही थियो । त्यसपछि २०६९ सालमा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । २०७० सालमै महिला राष्ट्रिय यु–१९ प्रतियोगिता समेत आयोजना गरिएको थियो ।