एपीएफ मनकामना केवलकार कपको फाईनलमा

शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाईनल खेल्ने ढोका खोल्दा पाहुना टोली भने पेनाल्टी सुटआउटमा अनुभव विहीन देखिदैं छैटौं मनकामना केवलकार पोखरा कपबाट बाहिरिएको छ । निकै दबावमा राखेपनि स्कोरिङ निकाल्न नसकेको जापानीज रिस्हो युनिर्भसिटीको टोली पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित हुदैं पोखरा बसाई छोट्याउँदा एपीएफ भने पहिलो पटक फाईनल खेल्ने टोली बन्यो ।

निर्धारित र थपिएको समयमा गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । सुदिप शिख्राकार, आशिष लामा, राजीव लोप्चान र गोलकिपर राजु नगरकोटीले पेनाल्टीमा गोल गरेपछि फाईनल खेल्न पर्याप्त बन्न पुग्यो । एपीएफका गोलकिपर नगरकोटीले नात्सुकी ताकेदाको प्रहारलाई बचाउ गरेपछि जितको सम्भावना बलियो बन्यो । त्यसमा पनि अझ ताकुदो योसिनोको प्रहार क्रसबार माथिबाट बाहिरिएपछि जितको खुशीयाली मनाउने बाटो खुल्यो । केवल एक गोल भने ताकुया हितोमीले गरे ।

एकपछि अर्को गोलको अवसर सृजना गरेको जापानीज टोलीलाई एपीएफले निर्धारित समयसम्म रोकेरै राख्यो । हिलाम्मे मैदानमा केही नियन्त्रण गरी खेल देखाएको पाहुना टोलीले शुरुदेखि नै गोल गर्ने अवसरलाई चुकाई राख्यो । १३ औं मिनेटमा पहिलो आक्रमण बुन्यो । योजी फुजीमोरीको साईड भली प्रहारलाई गोलकिपरले एपीएफका गोलकिपर राजु नगरकोटीले पन्च गर्दै कर्नरको अवसर दिए । केसुकी अमुरोको पासलाई उनले उपयोग गरेपनि गोल भने हुन सकेन् ।

दोस्रो हाफमा पनि उस्तै गरी आक्रमणको जालो बुन्यो । तर सफल नहुदाँ खेल निर्धारित समय गोलरहित टुंगिदै थप समयसम्म लम्बियो । ५४ औं मिनेटमा कप्तान ताकुया हितोमीको प्रहार एपीएफका गोलकिपर नगरकोटीले पन्च गर्दै जोगाए । गोलकिपरबाट रिवाउण्ड भएको बललाई केसुकी अमुरोले प्रहार गरे । जसलाई नगरकोटीले क्याच गर्दै टोलीको उर्जा बचाई राखे । ७३ औंको अवसर पनि पाहुना टोलीको लागि सदुपयोग हुनबाट टाढियो । योजी फुजिमोरीको पावरफूल सट नगरकोटीले पन्च गर्दै बचाए ।

८५ आंै मिनेटमा ताकुया हितोमीले हानेको बल एपीएफका गोलकिपर नगरकोटीले पन्च गरे । रिवाउण्ड भएको बललाई योता उमिहाराले हानको हेडिङ क्रसबारमाथिबाट बाहिरियो । ८७ औं मिनेटमा पाएको कर्नरलाईै नात्सुकी ताकेदाले प्रहार गरे । कर्नरको क्रसलाई उमिहाराले हानेको हेडिङ सेकेण्डबार नजिकैबाट बाहिरियो । अतिरिक्त समयमा उमिहाराले डिबक्स लाईन भन्दा केही अगाडिबाट हानेको सट क्रसबारमा लागेर रिवाउण्ड हुन पुग्यो । रिवाउण्ड बललाई भने एपीएफका गोलकिपरले समात्दै पाहुना टोलीको प्रहारलाई विफल तुल्याईरहे ।

आक्रमण बुनिरहदाँ एपीएफले भने गोल रोक्ने प्रयासमा समय खर्चियो । जसको प्रतिफल पेनाल्टी सुटआउटमा आएर प्राप्त गर्यो । अधिकांश जापानीज टोलीको प्रयास विफल बनाउँदै पेनाल्टी सुटआउट जोगाएका एपीएफका गोलकिपर नगरकोटी म्यान अफ दि म्याच घोषित भए । मैदान हिलो भएको कारणले पनि जापानले अपेक्षित फुटबल प्रदर्शन गर्न नसकेको ठम्याई दर्शकले गरेका थिए । कास्की जिल्ला फुटबल संघ आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल शनिबार सिक्नेचर मनाङ मस्र्याङ्दीले क्यामरुनी टोली डफिन्स फुटबल क्लब परिवारसँग खेल्ने छ ।

kheladinews.com