फिलिपिन्सका त्रिया आईटिएफ यु–१८ सेमिफाईनलमा

फिलिपिन्सका जोसे एन्टोनियो त्रियाले आईटिएफ यु–१८ ग्रेड फाईभ अन्तर्गत बुधबार क्र्वाटरफाईनल प्रवेश गर्ने क्रममा पोखरा रंगशालाको टेनिस कोर्टमा जर्मनीका पाउल अमिन अल्ब्रिचलाई सोझो सेटमा पराजित गरे । उनले पहिलो सेट ७–५ र दोस्रो सेट ६–१ ले लिदैैं अन्तिम आठमा प्रवेश गरेका हुन् ।

पुरुष तर्फकै अर्को प्रतिस्पर्धामा भारतीय खेलाडी इशान सेठी(६)ले चीनिया खेलाडी जिहान लिलाई ६–४, ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरे । अर्को खेलमा भारतकै उदयबीर सिंहले चीनकै खेलाडी चेन लियाङलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–१, ६–३ सेटको नजिता निकाले । जापानका जेनी इनोयुले भारतका खेलाडी अनमोल जैन पन्कजमाथि ६–०, ६–२ को सेटले चुनौति पन्छाए ।

भारतका दिपेन्दर ग्रेवालले कोरियन खेलाडी जुबिन किमलाई सोझै सेटमा पन्छाउँदै अन्तिम आठ पक्का गरे । किममाथि उनले ६–३, ६–२ को सेटले किनारा लगाए । त्यसैगरी हङकङका कायले लक यिनताङ(७)ले भारतीय खेलाडी आदित्य बरदान रोय चौधरीलाई ६–३, ६–१ को सेटले पराजित गरेका थिए । जापानका किजु मियाकेले भारतका जेराल यासिनलाई ६–३, ४–६ र ६–४ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे । भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२ को सेटले पराजित गरेका थिए । पुरुषको डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोेसे एन्टिनियो त्रियाको जोडीले चीनका जिहुवान लि र चेन लियाङको जोडीलाई ६–४, ६–४ को सेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला तफको प्रतिस्पर्धामा कोरियन खेलाडी जुमिन कोङले चीनिया खेलाडी जियु झाङलाई तेस्रो सेटमा पराजित गर्दै क्र्वाटरफाईनल सुरक्षित बनाईन् । कोङले ६–३, ५–७, ६–३ को सेटमा झाङलाई पराजित गरेकी थिईन् । त्यसैगरी अर्को खेलमा ताईपेईकी यु सिन लिनले चीनकी इतोङ झाङ(८)लाई पराजित गरिन् । उनले ६–२, ६–० को सेटमा पन्छाउँदै अन्तिम आठको स्थानमा आफुलाई उभ्याईन् ।

चीनकी जुवान जेङले श्रीलंकाकी अन्जलिका कुरेरालाई ३–६, ६–२, ६–४ को सेटले पन्छाईन् । त्यसैगरी गरी बुल्गेरियाकी भिक्टोरिया भेलेभले जापानकी जुलियादिया बर्देनलाई ६–३, ६–२ को सेटमा पराजित गरिन् । प्रतियोगितामा महिला एकलतर्फ चाइनाकी ले यि लियुले भारतकी श्रृष्टि धिरलाई ६–२, ६–० ले, भारतकी रेन्नी सिंग्लाले नेपालकी अभिलाषा विष्टलाई ६–१, ६–२, भारतकै रिया बोभेजाले भारतकै अमिक किरन बाथलाई ६–३, ६–१ ले पराजित गरिन् ,कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा आईटिएफ यु–१८ ग्रेड फाईभको सर्किट १ अन्तर्गतका खेलहरु चलिरहेको छ । अर्को साता सर्किट २ अन्तर्गतका खेलहरु हुने छन् ।

kheladinews.com