अभिलाषा आईटिएफ यु–१८ को दोस्रो चरणमा

नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट आईटिएफ यु–१८ ग्रेड फाईभ च्याम्पियनसिप सर्किट १ मा पहिलो जित निकाल्दै दोस्रो चरण प्रवेश गरेकी छिन् । अमेरिकन खेलाडी महिका गुप्तालाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गर्ने पहिलो नेपाली खेलाडी बनिन् ।

मंगलबार पोखरा रंगशाला टेनिस कोर्टको कोर्ट नं २ मा भएको प्रतिस्पर्धामा पहिलो सेट ६–२मा लिएकी विष्टले दोस्रो सेट भने शुरुदेखि नै पछि परिन् । ०–३ को अवस्थालाई उल्ट्याउँदै उनले गुप्ता माथि ७–५ को सेटमा जित्दै अन्तिम १६ मा आफुलाई प्रस्तुत गरिन् । लगातार ४ सेट अंक ल्याएकी उनले त्यसपछिको दुई सेटअंकले पछि परिन् । ५–५ को अवस्थामा विष्टले गुप्ताको सर्भिसमा सेट अंक लिईन र आफनो सर्भिसमा म्याच प्वाईन्ट लिदैं जितको खुशीयाली मनाईन् ।

महिला तर्फकै अर्को खेलमा श्रीलंकन खेलाडी अन्जलिका कुरेराले भारतीय खेलाडी हिमाद्री कष्यपलाई सोझो सेटले पन्छाईन् । कुरेराले ६–२, ६–१ को सजिलो सेटमै जित निकालिन् । त्यसैगरी बुल्गेरियाकी भिक्टोरिया भेलेवाले पनि भारतीय खेलाडीलाई नै पराजित गर्दै दोस्रो चरणको यात्रा सहज बनाईन् । भिक्टोरियाले भारतकी वान्ही पाञ्चाललाई ६–२, ६–२ को सेटमा पन्छाईन् ।
महिला तर्फकै अर्को प्रतिस्पर्धामा भारतकी रिया उबोभेजाले चीनकी यु हुवान लियोलाई ७–५, ७–५ कै सेटमा पराजित गर्दै दोस्रो चरण सुनिश्चित बनाईन् ।

ताईपेईकी स्किया कुङ(२)लाई भारतकी मैत्री दिक्षा रावतले तेस्रो सेट खेल्दै नजिता आफनो पक्षमा पारिन् । ६–३ ले पहिलो सेट लिएकी रावतले दोस्रो सेट भने कुङलाई सर्मपित गरिन् । दोस्रो सेट ०–६ मा गुमाएका रावतले तेस्रो सेट भने ६–१ ले आफनो पक्षमा पार्दै जित सुनिश्चित बनाउँदै दोस्रो चरण प्रवेश गरिन् । महिलाकै अर्को खेलमा भारतीय खेलाडी रिना सिंगलाले जापानकी रिशा ओहना(४)लाई ६–२, ७–५ को सेटले चुनौति पन्छाईन् । ताईपेईकी लि सिन लिनले भारतीय खेलाडी सानाया नायकलाई ६–०, ६–२ ले पराजित गरिन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा भने नेपाली खेलाडी इभ्याक जोशी भारतीय खेलाडी सामु सोझो सेटमै निरिह बने । उनलाई भारतका अनोल जैन पन्कजले ६–०, ६–० मै पराजित गरे । त्यसैगरी कोरियन खेलाडी साङ ह्युन लिलाई भारतीय खेलाडी इशान सेठीले ६–१, ६–१ को सोझो सेटमा पन्छाईदिए ।

अर्का भारतीय खेलाडी उदयविर सिंहले अमेरिकन खेलाडी हानु पटेललाई पनि सोझो सेटमा पराजित गर्ने क्रममा ६–४, ६–४ ले पराजित गरेका थिए । जापानीज खेलाडी जेनी इनओयुले थाइल्याण्डका पविन जिरापोम्डाजेलाई ६–३, ६–४ ले पराजित गरे । जापानीज खेलाडी केइजु मियाकेले भारतीय खेलाडी अर्जुन गोहाडलाई सोझो सेटमै पराजित गर्ने क्रममा ६–०, ६–० ले नजिता निकाले । कोरियन खेलाडीले उत्कृष्ठ कमब्याक गर्दै चीनका खेलाडीमाथि प्रतिस्पर्धात्मक जित निकाले ।

पहिलो सेट ४–६ ले गुमाएमा कोरियन खेलाडी जुविन किमले दोस्रो सेट टाइब्रेकमा लिए । चीनका खेलाडी हाओ डुवानलाई दोस्रो सेटमा पराजित गर्ने क्रममा टाईब्रेकमा ७–६(४)ले पराजित गर्दै खेलमा कमब्याक गरे । तेस्रो सेट भने उनले ६–२ले लिदैं उत्कृष्ठ खेलाडीको झल्को उनले पोखरा रंगशालाको टेनिस कोर्टमा देखाए । पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित प्रतियोगिता दुईसाता चल्ने छ । पहिलो सर्किट एक साता र दोस्रो सर्किट एक सातासम्म चल्ने छ ।