सरकारी गाडी जलाउनेको पक्षमा कास्की कांग्रेसको आन्दोलन

सरकार अधिनायकवादी र अलोकतान्त्रिक भएको आरोप लगाई प्रमुख प्रतिपक्षी कांग्रेस आन्दोलनमा छ । बलात्कारी र माफियालाई सरकारले नै संरक्षण गरेको कांग्रेसको आरोप छ । यसरी आन्दोलनमा उत्रिएको कांग्रेसको कास्की जिल्ला समितिले भने सोमबार लज्जास्पद निर्णय गरेको छ ।

बैठकले पोखरामा शनिबार सरकारी गाडी जलाएको अभियोगमा पक्राउ गरिएका नेविसंघका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ । सत्य छानबिन गरी दोषीलाई कारवाहीलाई लागि सघाउनुपर्नेमा कांग्रेस कास्कीले कार्यकर्ता संरक्षणमात्र गर्न लागेको हो ।

पोखरा महानगर शिक्षा इकाइको गाडी शनिबार पोखरा मासबारमा जलाइएको थियो । आगो लगाइएको गाडी जलेर ध्वस्त भएको छ । गाडी जलाएको अभियोगमा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई प्रहरीले शनिबारै पक्राउ गरेको थियो ।

कांग्रेसले उनीहरुलाई झुट्टा मुद्वा लगाई थुनामा राखेको दाबी गरेको छ । मंगलबार प्रशासन कार्यालयमा उनीहरुलाई छुटाउन डेलिगेसन जाने कार्यक्रम तय भएको जिल्ला सदस्य नवीन सिग्देलले बताए ।