सन्जय लामाको टिमलाई प्रो–एम गल्फ उपाधि

शनिबार सुर्य नेपाल वेष्टर्न ओपन गल्फ अन्तर्गत प्रो–एम प्रतिस्पर्धाको उपाधि सन्जय लामाको टोलीले जितेको छ । शनिबार हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा लेभल पार खेल्दै सन्जय लामाको टिमले उपाधि उचालेको हो । १६ होलको कोर्षमा पार ६९ खेल्दै उपाधि रक्षा गरेको हो ।

लामाको टोलीमा एमेच्योर खेलाडी सन्जीव तिवारी, ले. कर्णेल झलेन्द्र भट्टराई र बलराम थापा थिए । सन्जयले ३८, तिवारीले ३६, भट्टराई र थापाले क्रमश ३३ स्कोर गर्दै कुल १३८ अंकसहित उपाधि जितेको हो । प्रो. शिवराम श्रेष्ठको टोली भने उपविजेतामा चित्त बुझायो । १२९ अंक जोडेको टोलीका लागि शिवरामले ३५, एमेच्योर राजेश राई ३३, बसन्त गौचनले ३२, सुन्दर राईले ३२ स्कोरको कार्ड बनाए ।

त्यसैगरी तेस्रो स्थानमा भने प्रो. भुवन नगरकोटीको टीम रह्यो । नगरकोटीले ३२ , एमेच्योर खेलाडी हरि थापा, महेन्द्र फगामीले ३२, र राजु थकालीले ३१ स्कोर सहित १२७ अंकसहित तेस्रो स्थानमा रह्दै १९ औं सस्करणको वेष्टर्न ओपन गल्फ प्रतियोगिताको यो वर्षको सस्करण टुंिगएको छ । महिला तर्फको प्रतिस्पर्धामा रविना श्रेष्ठ ३०४ स्कोर, पेम्बा शेर्पाले लङगेष्ट ड्राइभ र रिशवराज आचार्यले क्लोजेष्ट टु दि पिनको पुरस्कार थापे ।

शनिबार प्रो–एम तर्फको प्रतिस्पर्धामा २२ जना प्रो तर्फ प्रतिस्पर्धा गरेका थिए । सुर्य नेपालको मुख्य प्रायोजनमा सञ्चालित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि अघिल्लो दिन सन्जय लामाले जितेका थिए ।

प्रतियोगितमा ३३ जना प्रो र २५ जना एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रो–एमका विजेतालाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, सुर्य नेपालका सहायक शाखा प्रमुख विक्रम थापा, कास्की जिल्ला गल्फ सघका अध्यक्ष मे. लच्छिमीप्रसाद गुरुङ, हिमालयन गल्फ कोर्षका निर्देशक किरण केसी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

kheladinews.com