घरेलु टोली पराजित, बिग्रेड ब्वाईजको जितमा अफ्रिकन खेलाडी नायक

आयोजक ओम डेभलपमेन्ट बैंक पोखरा ११ ले छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपलाई सुखद बनाउने अभियानलाई विग्रेड ब्वाईजले पूर्ण विराम लगाईदिएकोछ । क्लोज क्याम्प विनै सिधै पोखराको मैदानमा उत्रिएको बिग्रेड ब्वाईजले ओम डेभलपमेन्ट बैंक पोखरा ११ को चुनौतिलाई १–० गोलले पन्छाउँदै अन्तिम आठमा सुरक्षित हुदाँ घरेलु मैदानमा घरेलु टोलीको नमिठो पराजय स्वीकार्यो ।

शुक्रबार पोखरा रंशगालामा घरेलु टोलीको चुनौति पन्छाउन विग्रेड ब्वाईजका अफ्रिकन खेलाडी नायक बने । झण्डै सवा घण्टाको समयपछि गोलको खडेरी तोड्दै कजिम बुसारीको गोल बिग्रेड ब्वाईजको यात्रालाई अन्तिम आठमा पुर्यायो । घरेलु टोली भने नतमष्तक बन्दै बाहिरिने तेस्रो टोली बन्न पुग्यो ।

७२ औं मिनेटमा बुसारीले गोल गर्दै जित सुनिश्चित बनाएका थिए । मनोज राईको फ्रिकिकलाई घरेलु पोखरा ११ का गोलकिपर अजित पराजुलीले बल क्लियर गर्ने क्रममा पन्च गरे । पन्च गरेको बल क्लियर हुन सकेन् । डिफेन्सले क्लियर गर्न खोजेको बल पनि बत्तारिएर डिबक्सभित्र झरेपछि बुसारीले त्यसलाई सदुपयोग गर्दै गोल गरेपछि आयोजक टोलीलाई निराश बनायो । खेलमा गोल गरेका बुसारी म्यान अफ दि म्याचको हकदार बने ।

‘क्लोज क्याम्प विनै पोखरामा आयौं । स्कोरिङमा समस्या रह्यो ।’ बिग्रेड ब्वाईजका प्रशिक्षक कबिन ब्यञ्जनकारले भने । उत पोखराका सहायक प्रशिक्षक प्रल्हाद हिराचनले गोलकिपरको गल्तीमा गोल खानु नै टर्निङ प्वान्ट भएको बताए । शनिबार नेपाल पुलिस क्लबले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

www.kheladinews.com