नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ तिहाइ बहुमत छ भन्दैमा अधिनायकवादी चरित्र नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । लोकतान्त्रिक युवा समाजले शुक्रबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले २ तिहाइको बलमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका हुन् । उनले भने, ‘२ तिहाइ त हिटलरसँग पनि थियो तर, हिटलरको अवस्था के भयो त्यस विषयमा वर्तमान सरकारले सोचोस् ।’
शर्माले वर्तमान सरकार अधिनायकवादको बाटोमा अघि बढेको आरोप लगाउँदै लोकतान्त्रिक संस्कारलाई कुल्चने काम सरकारले गरेको दाबी गरे । वर्तमान सरकारको अधिनायकवाद विरुद्ध कांग्रेसले माघ २१ गते देशभर बिरोध प्रदर्शन गर्ने र उक्त बिरोध प्रदर्शनमा सम्पूर्ण लोकतन्त्रवादी नेपाली सहभागि हुन शर्माले आग्रह गरे ।
शर्माले प्रतिपक्षी दलको नेता सदस्य हुने संवैधानिक परिषद्ले प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा विभिन्न आयोगमा अध्यक्ष सिफारिस गरेको भन्दै भने, ‘केपी ओली जी एक्लै निर्णय गर्ने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, किन चाहियो संवैधानिक परिषद् ?’ वर्तमान सरकार असंवैधानिक काम गर्नेतर्फ उद्दत भएको उनको आरोप थियो ।
शर्माले चिकित्सा शिक्षा विधेयक सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमति तोडेर सरकारले बलपूर्वक संसदबाट उक्त विधेयक पारित गराएको बताए । गोविन्द केसीसँग भएको सम्झौता अनुसारको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै शर्माले भने, ‘आफैले गरेको सहमतिबाट सरकार पछाडि हटेको छ ।’
केसीलाई एउटा व्यक्ति ठानेर अवहेलना गर्ने कोशिस भएको भन्दै शर्माले भने, ‘उहाँ अविवाहित हुनुहुन्छ, काठमाडौमा घर छैन । उहाँ कसैको स्वार्थको लागि लड्नुभएको होइन ।’ शर्माले वाइडबडीको विषय कांग्रेसले नछोडेको भन्दै वाइडबडी भ्रष्टाचारको सुक्ष्मरुपमा अनुसन्धान हुनुपर्ने बताए । ‘यसको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्छ, भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कारवाही हुनुपर्छ,’ उनले भने ।






