सन्जय लामाको अग्रता कायमै, ४ अण्डर खेलेका रवि पछि पछि

सन्जय लामाले बिहीबार दोस्रो दिन हिमालयन गल्फ कोर्षमा लेभल पार खेल्दै ३६ होल सकिदाँ दुई अण्डर १३६ को स्कोरमा अग्रता कायमै राखेका छन् । पहिलो दिन दुई अण्डर खेल्दै अग्रता लिएका उनले दोस्रो दिन पनि उस्तै लयलाई कायम राख्दै लेभल पार खेले ।

फ्रन्ट नाईनमा एक अण्डर खेलेका उनले व्याक नाईनमा भने एक ओभर खेल्दै खेल टुग्याए । पहिलो होलमा बर्डी हिर्काउँदै सुखद शुरुवात गरेका उनले दोस्रो होलमा भने बोगी खेप्दै स्ट्रोक गुमाउन पुगे । तेस्रो होलमा भने बर्डी हिर्काउँदै लय समाते । फ्रन्ट नाईनका बाँकी होलमा उनले पार खेल्दै एक अण्डरमा रहेर ब्याक नाईन शुरु गरे । व्याक नाईनमा ११ होलमा डबल बोगी खेप्दै अगाडि बढे । तर सम्हालिदैं उनले १४ र १५ मा बर्डी हिर्काए । आराम गर्नुअघिको १८ औं होलमा भने बोगी हान्दै तनावमा खेल टुग्याए ।

पहिलो दिन तीन ओभर खेलेको रवि खड्काले दोस्रो दिन सुधार गर्दै ४ अण्डर खेल्दै दोस्रो स्थानमा उक्लिएका छन् । उनले समग्रमा ३६ होल सकिदाँ उनी एक अण्डर १३७ को स्कोरमा रहँदै लामालाई पछ्याईरहेका छन् । एक स्ट्रोकले पछि परेका खड्काले उपाधि उचाल्ने सम्भावनलाई प्रबल बनाउँदै दोस्रो दिन ४अण्डर ६५ को स्कोरमा खेल टुग्याएका थिए । उनले अगाडिका चार होलमा पार खेले । पाँचौ र नवौंं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाएका खड्काले १४ र १५ औं ओभरमा पनि बर्डी खेल्दै फ्रन्ट र व्याक नाईनमा दुई÷दुई अण्डर राखे ।

शिवराम श्रेष्ठले दोस्रो दिन दुई ओभर खेलेपछि उपाधिको यात्रा केही असहज बन्न पुगेको छ । अघिल्लो दिन लेभल पार खेल्दै उपाधि होडमा रहेका उनले दोस्रो दिन खराब लयमा रहे । उनले ३६ होलको समाप्तीमा दुई ओभर १४० को स्कोरमा छन् । उनी सन्जय लामा भन्दा चार स्ट्रोकले पछि छन् भने रवि खड्का भन्दा तीन स्ट्रोकले पछि परेका छन् । पहिलो होलमै डबल बोगी खेपेर शुरुवात गरेका उनले फ्रन्ट नाईनमै दुईओभर खेले । ३ मा बर्डी हिर्काउँदै सुधारोन्मुख बने । १०, १६ र १७ मा बोगी खेपेपनि १२, १३ र १५होलमा बर्डी हिर्काउँदै स्ट्रोकलाई भने खेर फालेनन् ।

जयराम श्रेष्ठले दोस्रो दिन दुई ओभर खेल्दै ७१ को कार्ड बनाए । उनले ३६ होल सकिदाँ ३ ओभर १४१ स्कोरमा छन् । डबल बोगीबाट थाले । दोस्रो होलमा पनि बोगी नै खेले । तर तेस्रो होलमा बर्डी हिर्काए । फेरी चौथोमा पुगेर बोगीकै सामना गरे । उनले पनि फ्रन्ट नाईनै दुई ओभर खेले । व्याक नाईन भने कुनै कमजोर नदोहोर्याई लेभल पार ६९ खेल्दै शीर्ष दशभित्र अटाए । साविक विजेता आर्मी अफिसर्स गल्फ क्लबका धनबहादुर थापा भने दोस्रो दिन लेभल पार खेल्दै उपाधि होडलाई सम्भावनालाई केहीहदसम्म जिवितै राखेका छन् । १२ नम्बरको होलमा थापाले त्रिपल बोगी(डबल पार) खेल्दै खराब प्रदर्शन गरे । पार ३ मा उनले पटिङ गर्ने क्रममा ६ स्ट्रोक खर्चिए । फ्रन्ट नाईन दुई अण्डर खेलेपनि ब्याक नाईनमा उनको प्रदर्शन सन्तोषजनक नभएपनि अन्त्यमा लेभल पारको स्थितिमा टुग्याए ।

सुर्य शर्माले ४ ओभर १४२, पोखराका कमल तामाङले ५ ओभर १४३, कृष्णमान राजबहाकले कुल ७ ओभर १४५ को कार्डमा छन् । त्यसैगरी भुवनकुमार रोका ८ ओभर १४६, रामे मगर ९ ओभर १४७, पोखराका भुवन गुरुङ पनि ९ ओभर १४७ को स्कोरमा छन् । एमेच्योर तर्फको प्रतिस्पर्धामा भने तीन ओभर १४१ स्कोरमा रहँदै शुक्रराज राईले अग्रता लिईरहेका छन् ।

उनलाई पछ्याईरहेका छन् पोखराका अजित विकले । विकले ४ ओभर १४२ को स्कोरमा छ । विकले अघिल्लो दिन तीन ओभर खेले । बिहीबार दोस्रो दिन भने १ ओभर ७० को स्कोर खेल्दै उपाधि प्रतिस्पर्धामा छन् । प्रतियोगितामा २१ प्रोले फाईनलमा प्रतिस्पर्धा गर्ने छन् भने ७ जना एमेच्योरले कट जोगाएका छन् । प्रो तर्फ ३३ र एमेच्योर तर्फ २५ जनाले प्रतिस्पर्धा गरेका थिए । सुर्य नेपालको आयोजनामा सञ्चालित १९ औं सस्करणको विजेताको टुंगो आज लाग्ने छ । शनिबार भने प्रो–एमको प्रतिस्पर्धा हुने छ ।

kheladinews.com