मनकामना केवलकार पोखरा कपबाट च्यासलको बिदाई

खप्तड गोल्डकप सुदुरपश्चिमबाट बाहिरिएको क्यामरुनी डाफिन्स फुटबल क्लब छैटौं मनकामना केवलकार पोखरा कपमा भने आफनो जितबाट शुरु गरेको छ । दुई दिन अघि नै पोखरा आईपुगेको क्यामरुनी टोलीले च्यासल युथ क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्दा राजुकाजी शाक्यको च्यासल टोली काठमाडौं फर्किएको छ ।

१२ औं मिनेटमा पाएको फ्रिकिकले भ्रमणकारी टोलीको भाग्य लेखियो । क्यामरुनी खेलाडी शारीरिक रुपमा बलिया र अग्ला कदका थिए । जसको फाईदा हेडिङले गोलले प्रष्ट्याईदियो । ३० यार्डबाट इकविनले हानेको फ्रिकिकलाई अग्ला खेलाडी यान्निकले हानेको हेड बल फष्टबार च्याप्दै पोष्टभित्र छिरेपछि च्यासलको यात्रालाई पोखरामा आयोजित मनकामना केवलकार पोखरा कपको टुग्याउन प्रयाप्त बनिदियो ।

खेलको ३३ औं मिनेटमा क्यामरुनी टोलीले अर्को अवसर जुरायो । तर त्यो सदुपयोग भने हुन सकेन् । फ्रिकिकलाई उपयोग गर्ने तयारीमा रहेको क्यामरुनी टोलीले सायलो मार्टिनले हानेको पावर सट बल क्रसबार माथिबाट बाहिरियो । त्यो त च्यासलले पनि अवसर नपाएको भने होइनन् । तर पाएको अवसर गोलमा परिणत गर्नबाट च्यासल चुक्न पुग्यो ।

पहिलो हाफ हुनु अघि च्यासललाई भाग्यले ठग्यो । हेमन्त थापामगरले हानेको बल भिक्टोर अमोबीको खुट्टाबाट फुत्किएको बल आफनै सहकर्मी सुनिल खड्कामा पुग्यो । तर उनले हानेको बल फष्टबारमा लागेर रिवाउण्ड भयो । रिवाउण्ड बललाई एल्भिस अप्पेचले गोल लाईन छुन नसक्दा क्यामरुनी डिफेन्स अर्मेल एकान्डोले क्लियर गरे ।

खेलको २८ औं मिनेटमा पनि एल्भिसकै सट सेकेण्ड बार नजिकैबाट बाहिरिएपछि च्यासलले अवसरलाई गुमायो । अनन्त थापाले कर्नर बल विक्रम लिम्बुलाई उपलब्ध गराउँदै लिम्बुको क्रस पास एल्भिसले पोष्टको दिशा दिन खोजेपनि सफल हुन सकेनन् । दोस्रो हाफमा भने दुवैले राम्रो मुभ बनाउन असमर्थ रहे । क्यामरुनी टोलीले गोल जोगाउन उद्दत रहदाँ च्यासल भने बराबरी गोल गर्न आतुर देखिएको थियो ।

क्यामरुनी टोलीका व्यवस्थापक आशिष थापा मगरले टोली क्यामरुनबाटै आएको बताउँदै पोखरामा आईपुग्दा तेस्रो खेलमा जित निकालेको बताए । उनले क्यामरुनी खेलाडीहरु नेपालमा सञ्चालनको तयारीमा रहेको फ्रेन्चाईज लिगमा नेपाली क्लबहरुबाट खेल्ने अवसरको रुपमा लिएर नेपाल आएको बताए । दोस्रो दिनको खेलमा क्यामरुनी गोलकिपर प्रिसो एनडीटान्गा म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।

मोफसलका केही शहरमा आयोजित नकाउट फुटबल प्रतियोगिताले पोखरामा आयोजित मनकामना केवलकार पोखरा कपमा खेल तालिका सार्वजनिक गरिएको छैन् । एक ठाँउबाट अर्को ठाँउमा सहभागि क्लबहरु नै उपस्थिति हुनुपर्ने बाध्यता रहेको छ । कास्की जिल्ला फुटबल संघको आयोजना र मानकमना दर्शन प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगितामा बिहीबार स्थगित गरिएको छ । शुक्रबार भने आयोजक पोखरा ११ ले बिग्रेड ब्वाईजसँग प्रतिस्पर्धा गर्ने छ ।

kheladinews.com