पेनाल्टीमा एपीएफको भाग्य, शेर्पा बाहिरियो

पेनाल्टीले भाग्य कोरिदिएपछि विभागीय टोली शसस्त्र प्रहरी बल छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपको अन्तिम आठमा प्रवेश गर्दा अभागी बन्दै हिमालयन शेर्पा उदघाटन खेलबाटै बाहिरिएको छ ।

दोस्रो हाफमा कमब्याक गर्दै लयमा फर्किएको हिमालयन शेर्पा ७८ औं मिनेटमा पुगेर अभागी बन्यो । पोखरा रंगशालाबाट पहिलो खेलबाटै शेर्पालाई बिदाई गर्न एपीएफलाई पेनाल्टीको अवसर जुर्यो । पेनाल्टीमा सुदिप सिख्राकारले गोल गर्दै शेर्पाको चुनौति २–१ गोलले पन्छाउँदै विभागीय टोली अन्तिम आठ प्रवेश गर्ने पहिलो टोली बन्यो ।

पहिलो हाफको २५ औं मिनेटमा एपीएफले अग्रता लियो । आशिष लामा गोल गर्दै दिलाएको अग्रता पहिलो हाफसम्म रह्यो । उनले डिबक्स बाहिरबाट हानेको बल क्रसबार हुदैं बल गोलपोष्ट भित्र छिरेपछि अग्रता लिएको थियो । शेर्पाका गोलकिपरले बचाउको प्रयास विफल बन्यो । दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शेर्पाले कमब्याक गर्यो । ५४ औं मिनेटमा अमर डंगोलले गोल गर्दै शेर्पाको जोशलाई मैदानमा फर्काए ।

५४ औं मिनेटमा शेर्पाले फ्रिकिक पायो । डि बक्स बाहिर निकै लोभलाग्दो ठाउँमा पाएको फ्रिकिक रवि थापाले प्रहार गरे । रिफलेक्ट भएको बललाई अमर डंगोलले गोल गर्दै शेर्पालाई खेलमा फर्काए । उर्जाशिल बनेको शेर्पा ७८ औं मिनेटमा निराश बन्यो । डिबक्स भित्र ह्याण्ड भएपछि पेनाल्टीको अवसर एपीएफले पायो । सिख्राकारले पेनाल्टीमा गल्ती गरेनन् । र अन्त्यमा शेर्पाले छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपको यात्राबाट विट मार्यो ।

शेर्पाले केही राम्रा अवसर नपाएको भने होईन् । तर गोल गर्न चुक्दाको परिणाम बाहिरिनु पर्यो । पहिलो हाफमै अमर डंगोलले डिबक्स भित्र क्लोज रेन्जमा पाएको बललाई एपीएफका गोलकिपरले बचाए । त्यसो त दोस्रो हाफमा शेर्पाका प्याट्रिकले ६३ औं मिनेटमा अनमार्क हुदैं हानेको बल बाहिरिन पुग्यो ।

त्यस भन्दा अघि विजय श्रेष्ठले हानेको पावर सट पनि एपीएफका गोलकिपरले बचाउ गर्दै कर्नर तर्फ धकेले । ‘खेल राम्रै भयो । खेल दोस्रो हाफमा अझ प्रभावकारी रह्यो । पेनाल्टी नै टर्निङप्वान्ट हो ।’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने । उदघाटन खेलको म्यान अफ दि म्याच भने एपीएफका आशिष लामा घोषित भए ।

आज बुधबार दोस्रो दिनको खेल क्यामरुनी टोली डाफिनास टिम परिवार र च्यासल बीच हुने छ । मोसफलकै उत्कृष्ठ प्रतियोगिताको छवि बनाउन उद्दत फुटबलको उपाधि उचाल्न भर्खरै लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजले सहभागिता जनाएका छन् ।

यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

उत्कृष्ठ विधाको पुरस्कार भने कास्की जिल्ला फुटबल संघमा आवद्ध पाँच क्लबले प्रायोजन गरेका छन् । कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना केवलकार प्रालिको मुख्य प्रायोजनमा झण्डै दुई वर्ष आयोजित प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले उदघाटन गरेका थिए । उदघाटन समारोहको अध्यक्षता कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले गरेका थिए ।

kheladinews.com