३३ किलो सुनकाण्डमा श्यामकृष्ण विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुनकाण्डमा दोषी ठहर गर्दै एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष दालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा बिगो दाबी गर्दै मंगलबार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका आधारमा उनलाई जरिवाना र कैद सजाय दुवै माग गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयमा हुँदा श्रेष्ठ ३३ किलो सुन तस्करीको अभियोगमा २०७३ साल पुस २७ देखि निलम्बनमा परेका थिए । श्रेष्ठकी जेठी श्रीमति तारावेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानांगका नाममा आफूले गैरकानुनी रुपमा आर्जेको सम्पति राखेकाले उक्त सम्पत्ति जफत गर्न अख्तियारले माग गरेको छ ।