एन्फा कास्कीको आयोजना, क्लबद्वारा पुरस्कार प्रायोजन

कास्की जिल्ला फुटबल संघ(एन्फा कास्की)ले आयोजना गरेको प्रतियोगितालाई एन्फामै आवद्ध पाँच क्लबले विभिन्न विधाका पुरस्कार प्रायोजन गरिदिएका छन् । मंगलबारदेखि शुरु हुने मनकामना केवलकार पोखरा कपको छैटौं सस्करणका उत्कृष्ठ विधाका पुरस्कार प्रायोजन क्लबहरुले गरिदिएका हुन् ।

प्रतियोगितामा प्रदान गरिने उत्कृष्ठ फरवार्ड, डिफेन्स, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ । जसको प्रायोजन एन्फा कास्कीमा क्लबहरु क्तमश शितलज्योति युवा कलब, विष्णुपादुका क्लब हेमजा, ड्यामसाईड क्लब, हेमजा युनाईटेड, डेविजफल युवा क्लब र भदौरे युवाक्लबले गरेका हुन् । दुई वर्ष स्थगित फुटबल प्रतियोगिताको उदघाटन हिमालयन शेर्पाले शसस्त्र प्रहरीबलसँग खेल्दै विधिवत शुरुवात हुने कास्की जिल्ला फुटबल संघले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।

मोफसलका विभिन्न शहरमा नकाउट फुटबल प्रतियोगिता चलिरहेकै कारण कास्की जिल्ला फुटबल संघले भने अन्य खेलको खेल तालिका सार्वजनिक गरेको छैन् । संघका अध्यक्ष मिलन गुरुङले लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजको सहभागिता रहने बताए । दुई विदेशी टोलीको हकमा भने क्यामरुनी टोली डाफिनास टिम परिवार र जापानको रिस्हो युनिर्भसिटी टिम पोखराको मैदानमा पहिलो पटक उपस्थिति जनाउने उनले पत्रकार सम्मेलनमा सुनाए ।

क्यामरुनी टोलीको मोसफलको नकाउट फुटबलमा सहभागिता भने दोस्रो हो । यसभन्दा अघि सुदुर पश्चिममा आयोजित खप्तड गोल्डकपमा सहभागिता जनाएको थियो । छैटौं सस्करणमा पुरस्कार राशीलाई समेत बृद्धि गरिएको छ । पाँचौ सस्करणभन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

आयोजक कास्की जिल्ला फुटबल संघले १२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । आम्दानी भने १ करोड २८ लाख ५० हजार गरेको छ । संघका अनुसार फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मान गरिने छ । स्थगित भएको दुई वर्षपछि मनकामना केवलकार पोखरा कप गर्ने तयारी पुरा गरिएको छ । मैदान वरिपरी टिनले बारिसकिएको छ । स्टेज दर्शकलाई आवश्यक प्यारापिट निर्माण गरिएको छ ।

www.kheladinews.com