सरकार विरुद्ध देशव्यापी आन्दोलनमा कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि आक्रमक भएको कांग्रेसले माघ २१ गते ७७ वटै जिल्लामा विरोध सभा गर्ने निर्णय गरेको हो ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । चिकित्सा शिक्षा विधेयक संसदबाट जबरजस्ती पास गरेको विरोधमा , नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन बिरोध, बलात्कारपछि हत्या गरिएको कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने,अनशनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्नुपर्ने माग राख्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

प्रवक्ता शर्माले डा. केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई सचेत गराइएको बताए । उनले विमानस्थलबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीलाई दिएको जवाफ गैर जिम्मेवारी भएको टिप्पणी गरेका थिए ।