एबिसीलाई एट ए साइड उपाधि

‘स्वास्थ्यका लागि १ घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने मूल उद्देश्यका साथ पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकद्वारा आयोजित आठौं स्व. रञ्जित गुरुङ स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”को उपाधिअमरसिंह ब्याइज क्लब (एबिसी) उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा भारतको पाहुना टोली कोलकत्ता भेट्रानलाई टाइ ब्रेकरमा ३–२ गोलले पराजित गर्दै एबिसीले उपाधि उचालेको हो । निर्धारित समयमा दुबै टिमको तर्फ बाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुट आउटमा भने एबिसी भाग्मानी निस्कियो । पाहुना टोलीका खेलाडी आलोक देको प्रहार बारमा ठोक्किएर फर्कदा एबिसी उपाधिको हकदार बन्यो ।

जितसँगै एबिसीले आफ्नो पुरानो साखसमेत जोगाएको छ । एबिसीले २०६८ देखि २०६९ सम्म लगातार जित हासिल गर्दै उपाधिमाथि नै कब्जा जमाएको थियो ।

एबिसीले नगद १ लाख र उप विजेता कोलकत्ता भेट्रानले नगद ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

शनिबार नै भएको सेमिफाइनलमा एबिसीले चावहिल काठमाण्डौंलाई टाइब्रेकरमा ३–२ र कोलकत्ता भेट्रानले एक्स पोखरा भेट्रानलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगितामा एबिसीका सञ्जय गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।सर्वोत्कृष्ट गोल रक्षकमा एबिसीका रबिन शाही र कोलकत्ताका शाहिक शिकन्दर सर्वोत्कृष्ट डिफेन्डर घोषित भए । सर्वोत्कृष्ट हुने सबैले जनही नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।

कोलकत्ताका कमल भुनिया प्रतियोगिता अवधिभर ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । उनले नगद ५ हजारका साथमा ट्रफी पाए ।

विजेता टिम तथा खेलाडीलाई पोखरा महानगरका मेयर मानबहादुर जिसी, हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ, मुख्य प्रायोजकको तर्फबाट मेजर खुसीमान गुरुङ र उनकी पत्नी मञ्जु, बगर भाइ खलक युकेका भानु गुरुङ, ओमप्रकाश गुरुङ, कुमार गुरुङ, धनु थकाली, तमुधिं युकेका संस्थापक अध्यक्ष मिन गुरुङ लगायतले नगद पुरुस्कार, ट्रफी एवम मेडल वितरण गरेका थिए ।