सिर्जना कप भलिबल राष्ट्रिय र जनप्रियलाई

कास्की जिल्लास्तरीय प्रथम सिर्जना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधि राष्ट्रिय मावि र जनप्रिय माविले जितेका छन् । कास्की जिल्ला भलिवल संघ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा शनिबार भएका प्रतियोगितामा छात्रतर्फको उपाधि राष्ट्रिय मावि र छात्रातर्फको उपाधि जनप्रिय माविले जितेको हो ।

शनिबार दिउँसो भएको छात्रतर्फको उपाधि भीडन्तमा राष्ट्रिय माविले कालिका माविलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुम्यो । राष्ट्रिय माविले कालिका माविलाई १७–२५, २५–२३, २५–१८, २३–२५ र १५–९ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । पराजित कालिका माविले भने उपविजेतामै चित्त बुझायो ।

त्यस्तै शनिबारै भएको छात्रातर्फको फाइनल खेलमा जनप्रिय माविले तालबाराही माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि चुम्यो । जनप्रिय माविले तालबाराहीलाई २५–२१, २५–८ र २५–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पराजित तालबाराही मावि भने उपविजेतामै सीमित भयो ।

उपाधि विजेता छात्रतर्फको राष्ट्रिय मावि र छात्रातर्फको जनप्रिय माविले ५०÷५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका छात्रतर्फ कालिका मावि र छात्रातर्फको तालबाराही माविले ३०÷३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसअघि शनिबारै भएको छात्रतर्फको खेलमा भद्रकाली माविले लक्ष्मी माविलाई ३÷१ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित ग¥यो । भद्रकालीले लक्ष्मी माविलाई २५–१६, २५–२३, २९–२७ र २५–१९ को सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको हो ।

त्यस्तै, छात्रातर्फको खेलमा बालमन्दिर माविले छोरेपाटन माविलाई ३–१ कै सेटमा पराजित गर्दै तेस्रो भयो । बाल मन्दिरले छोरेपाटनलाई १४–२५, २५–१९, २५–१४ र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

तेस्रो स्थान प्राप्त गर्ने छात्रतर्फको भद्रकाली मावि र छात्रातर्फको बाल मन्दिर माविले १५÷१५ हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ राष्ट्रिय माविका सञ्जय परियार सर्वोत्कृष्ट घोषित भए । उनले नगद १० हजारसहित मेडल प्राप्त गरे । त्यस्तै उत्कृष्ट स्पाइकरमा कालिका माविका अजय सुनार, उत्कृष्ट डिफेन्डर भद्रकाली माविका अन्तिम विक, उत्कृष्ट सेटर राष्ट्रिय माविका सन्दीप परियार र उत्कृष्ट ब्लकर राष्ट्रिय माविकै राम गुरुङ भए । उनीहरुलाई नगद ५÷५ हजारसहित मेडल प्रदान गरिएको थियो ।

यसैगरी छात्रातर्फ जनप्रिय माविकी तेलिना छन्त्याल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजारसहित मेडल जित्न सफल भइन् । त्यस्तै छात्रातर्फ जनप्रिय माविकी खिममाया छन्त्याल उत्कृष्ट स्पाइकर र छोरेपाटन माविकी रीता बुढाथोकी उत्कृष्ट स्पाइकर हुँदै नगद ५÷५ हजारसहित मेडल जित्न सफल भए ।

यसैबीच, प्रथम सिर्जना कप सफल भएसँगै यसलाई रनिङ सिल्डको रुपमा लैजाने घोषणा भएको छ । प्रतियोगिता समापन कार्यक्रममा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली र सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले आगामी दिनदेखि सिर्जनाकपलाई रनिङ सिल्डको रुपमा लैजाने घोषणा गरेका हुन् । भलिबल खेलको जग बलियो बनाउन प्रतियोगिता आयोजना गरेको उनीहरुको भनाइ छ ।

प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सदस्य राजीव पहारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराई, प्रथम उपाध्यक्ष इन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रथम सिर्जना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको अवसरमा २ जना सम्मानित भए । कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्रको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिबल खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार नारायण शाही र भलिबल खेलको विकासमा योगदान दिएको भन्दै क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो ।