आहा रारा बढ्यो पुरस्कार, खुम्चियो प्रतियोगिताको दिन

अखिल नेपाल फुटबल संघ(एन्फा)ले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको १७ औं सस्करणमा आईपुग्दा प्रतियोगिता मिति दुई दिन खुम्च्याईदिएको छ । एन्फाले दिएको मिति फागुन ९ देखि १८ सम्मको छ । जुन विगतका वर्षमा भन्दा दुई दिन कम हो । दुई दिन कम हुदाँ दुई क्लबलाई बाहिरै राख्नुपर्ने बाध्यता सहारा क्लबलाई यो सस्करणमा परेको छ । तर अझै पनि १२ वटै क्लबलाई सहभागिता गराउन उद्दत सहारा क्लब छ ।

‘एन्फाले दिएको मिति अनुसार नै प्रतियोगिता खेलाउँछौं ।’ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने–‘विगतको भन्दा दुई दिन कम छ । दुई दिनको कमीले बाहै्र टिम खेलाउन समस्या छ । तर एकै दिन दुई खेल खेलाएर भएपनि व्यवस्थापन गर्ने तर्फ जुटिरहेका छौं । नभए १० टिमलाई मात्रै प्रतियोगितामा समावेश गरेर टुग्याउने छौं ।’

फाईनल अघि आरामको दिन राखिन्थ्यो । तर अहिले लगातार खेल खेलाउनुपर्ने बाध्यता पनि छ । आराम नहुदाँ खेलाडीलाई थकान हुन्छ । अझ १२ वटै टिम समावेश गरेको अवस्थामा खेलाडीलाई आराम समेत पुग्दैन् ।

यतिबेला क्लबलाई अर्को चुनौति थपिएको छ । प्रतियोगिताको पुर्वसन्ध्यामा पोखरा फुटबल स्टेडियम निर्माणको ठेक्का सम्झौतापछि सम्बन्धीत कम्पनीले माटो परीक्षण शुरु गरेको छ । गत वर्षको सस्करणमा प्यारापिट भत्काईएको थियो । भत्काउँदै गरिएको अधकल्चो प्यारापिटमा बसेर दर्शकले आहा रारा गोल्डकपको शुरुवातीदेखि फाईनलसम्म हेरेका थिए । प्रतियोगिताको तयारी गरिरहदाँ पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणले गति लिएको अवस्थामा गोल्डकप अन्यत्र सार्नुपर्ने बाध्यतायुक्त चुनौति क्लबलाई छ ।

रारा चाउचाउको उत्पादन हिम श्री फुड्सको मुख्य प्रायोजनको गोल्डकपमा यो वर्ष सहारा क्लबले पुरस्कार राशीमा समेत बृद्धि गरेको छ । विजेताको हकमा भने ८ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो पुरस्कार ४ लाख १ हजार प्रदान गरिने क्लबले जनाएको छ । हिमा अस कन्सल्टेन्सीले दोस्रो पुरस्कार प्रायोजन गरेको पत्रकार सम्मेलनमा सुनाईयो । रोयल इन्फिलिड बुलेट बाईक फेयर प्ले पुरस्कार प्रायोजकको रुपमा रहेको छ । सर्वाधिक गोलकर्ता पुरस्कारको प्रायोजन सनराईज ड्राईभिङ स्कुल प्रालिले गरेको छ ।

प्रतियोगिताको लागि सहारा क्लब युकेले विभिन्न ट्रफीहरु हन्तान्तरण गरेको छ । युकेका महासचिव धनु थकालीले विभिन्न विधालाई प्रदान गरिने ट्रफी सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन् । सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एकजना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार रुपैयाँबाट सम्मानित गरिने छ । जसको प्रायोजन भने क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन् ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पोखरा महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब हङकङ, सहारा क्लब अष्टे«लिया, मुग्लान रेष्टुरेण्ट,वल्र्ड लिंक लगायतका विभिन्न संघसंस्थाले विशेष सहयोग गरेको क्लबका महासचिव विश्वराज बरालले बताए । प्रतियोगिताको लागि क्लबले १ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च हुने अनुमान गरेको छ ।

बचत रकम क्लबले आफनै एकेडेमीमा रहेका २८ जना बाल खेलाडीको लागि भरणपोषण एवं शिक्षादिक्षामा खर्च गर्दै आएको छ । प्रतियोगितामा ए डिभिजनका क्लबहरु, विदेशी र आयोजक टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । आयोजक सहारा क्लबले भने १२ औं सस्करणको उपाधि रक्षा गरेको थियो ।