सिडिओले शासन चलाउने कानुन मान्दैनौं

संघिय सरकारले प्रहरी ऐन बनाउँन ढिलाई गरेपछि सबैभन्दा पहिले संघिय सरकारलाई नै बेवास्ता गर्दे प्रहरी ऐन पारित गरेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारले ल्याएको सुरक्षासम्बन्धी विधेयक मान्य नहुने चेतावनी दिएका छन् । सरकारले ल्याएको प्रहरी परिचालन र आन्तरिक सुरक्षासम्बन्धी विधेयकमा गम्भिर आपत्ति जनाउँदै उनले आक्रोस व्यक्त गरेका हुन् ।

शनिबार राजधानीमा आयोति कार्यक्रममा उनले संघिय सरकारले प्रमुख जिल्ला अधिकारीले नै प्रहरी परिचालन गर्नेगरी विधेयक ल्याएको भन्दै आक्रोस व्यक्त गरेका हुन् । संघीय सरकारले प्रमुख जिल्ला अधिकारमार्फत् शासन चलाउने कोशिस गरिरहेको भन्दै आरोप लगाए । साथै उनले संविधान बिपरित संघियता नै मास्ने गरी ल्याएको विधेयक प्रदेश २ सरकारलाई मान्य नहुने भन्दै मुख्यमन्त्रीले चेतावनी दिए ।

प्रदेश सरकारले अहिले स्रोत, साधन र कर्मचारीको अभावमा सोचे अनुसार काम गर्न नसकेको समेत गुनासो गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेशमा बेटी बचाउँ बेटी पढाउँ अभियानमा छोरी जन्मिएपछि प्रदेश सरकारले नै बीमा गरिदिने योजना ल्याएको बताए ।

उनले उक्त बीमा बीस वर्ष पूरा भएपछि झिक्ने व्यवस्था राखिएकोले कम उमेरमा नै छोरीको बिवाह गरिदिने प्रबृती रोकिने विश्वास व्यक्त गरे । यो बीमामाघपछि जन्मने बालिकाहरुलाई प्रदान गरिनेछ । पहिलो चरणमा प्रदेशभित्रका ८ वटै जिल्लाका २/२ वटा पालिकामा प्रारम्भ हुने कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्या भण्डारीबाट हुने पनि मुख्यमन्त्रीले जानकारी दिए ।