विन्टरमा आइपुग्यो समर लभ पोखरा

नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोली प्रचारकै क्रममा बुधबार पोखरा आइपुगेको छ । टोलीले पोखरामा पत्रकार सम्मेलन गरी फिल्म उत्कृष्ट बनेको भन्दै हलमा पुगेर हेरिदिन दर्शकलाई आग्रह गरेको छ ।

आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास समर लभकै कथामा बनेको यो फिल्मलाई आफूले सकेसम्म न्याय दिने प्रयास गरेको यसका निर्देशकले बताए । यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । यसअघि उनले नाई नभन्नु लको सिरिज अन्तर्गत एउटा फिल्म निर्देशन गरिसकेका छन् ।

‘मलाई थाहा छ नेपालमा आख्यानमाथि बनेको फिल्म राम्रो चलेका छैनन् । अझै भनौं पुस्तकलाई न्याय गर्ने गरी पनि बनेका छैनन्, ’ पत्रकार सम्मेलनमा निर्देशक ढकालले भने, ‘तर यो फिल्मलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु ।’ उपन्यासको कुनै पात्र अथवा परिवेशलाई फिल्ममा तोडमोड नगरिएको पनि उनले प्रस्ट पारे ।

फिल्म करिब साढे २ करोड रुपैयाँ लगानीमा निर्माण भएको निर्माण युनिटले जनाएको छ । नेपालसँगै सिंगापुर, नर्वे लगायतका मुलुकमा पनि यो फिल्म छायांकन भएको छ । फिल्ममा अतीत शर्माको भूमिकामा अभिनेता आशीष पिया देखिएका छन् भने सायाको भूमिकामा रेवती क्षेत्री छिन् ।

बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा अतीतको भूमिकालाई आफूले सक्दो न्याय गर्ने प्रयत्न गरेको आशीषले बताए । ‘सबै पाठकको दिमागमा बसिसकेको अतीतको चरित्रलाई न्याय गर्ने कुरा निकै गाह्रो कुरा हो । यद्यपि मेरो प्रयासले यहाँहरुलाई निराश बनाउने छैन,’ आशीषले भने । अभिनेत्री रेवती क्षेत्रीले सायाको रुपमा आफूलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् ।

फिल्मलाई खगेन्द्र श्रेष्ठ, इन्दु भण्डारी, स्वप्न सरकार, मनोज विक र एकराज तामाङले मिलेर बनाएका हुन् । यो फिल्मको कार्यकारी निर्मातामा विनोद अधिकारी छन् । फिल्ममा पुष्पन प्रधानले संगीत दिएका हुन् भने सञ्जय लामा र मानकृष्ण महर्जन मिलेर फिल्म खिचेका हुन् ।