कसले लगाउँला मिस तामाङको ताज ?

बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते शनिबार हुने ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकालसम्म जीवन्त बनाइराख्न मिस तामाङ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं’ समाजका अध्यक्ष ज्याक तामाङले भने, ‘अघिल्ला संस्करणमा सहभागीले जाति, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं ।’

प्रतियोगितामा रीता लोप्चान, सोनी तामाङ, कुसुम तामाङ, सोफिया स्याङबो, सुस्मा लोप्चान, श्वेता पाख्रिन, आशा तामाङ, अस्मिता तामाङ, रिस्ता घिसिङ, जेमिना घिसिङ, सजना वाइबा, अमृता तामाङ, मिनु थोकर र नालामुखका प्रिती तामाङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगी १४ जनालाई गायक राजु लामा, गायिका तृष्णा गुरुङ लगायतले तालिम प्रदान गरेका थिए । नेपाली चलचित्रका महानायक राजेश हमाल, कलाकार सन्दीप क्षेत्री, हरिहर अधिकारी, जिपी तिमिल्सिनाले सहजीकरण गरेका थिए । तालिममा प्रतियोगीलाई तामाङ भाषा, संस्कार, परम्परा, भेषभूषा, रहनसहन तथा धर्मका विषयमा जानकारी प्रदान गरिनुका साथै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला सशक्तीकरण, सकारात्मक सोच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।

कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधीन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बालाई प्रदान गरिनेछ । ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङ, कलाकार तथा वरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमका आकर्षण बन्नेछन् ।

मिस तामाङ पोखरा २०१९ की विजेतालाई ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजारका साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भ्युअर्स च्वाइसका रुपमा १ जनाले नगद १५ हजार नगद हात पार्नेछन् ।