रामचन्द्रको जिल्लामा कांग्रेसको समानान्तर समिति

तनहुँमा कांग्रेसका पूव सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले कांग्रेसको समानान्तर समिति बनाएको छ । जोशी पक्षले मंगलबार दमौलीमा गरेको विशेष जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा डिल्लीराम अधिकारी निर्वाचित भए ।

जोशीलाई हालै कांग्रेसले कारवाही गरेको छ । जोशी गएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडलले विरुद्ध बागी उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरे पनि जोशीकै नकारात्मक भूमिकाका कारण पौडेलले चुनाव हारेको बताइन्छ ।

विशेष अधिवेशनले निर्विरोध पदाधिकारी तथा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समितिको सचिवमा चिनु पोख्रेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल र सदस्यमा बालकुमारी लोहनी, एलिसा गुरुङ, नूरचन्द्र वाग्ले, सुकुमलाल गुरुङ, धु्रवकुमार श्रेष्ठ, ऋषिराम पोख्रेल, ओमबहादुर नेपाली, वुद्धिमान नेपाली छन् ।

यस्तै, केशरबहादुर गुरुङ, नरेन्द्र थापा, चित्तबहादुर थापा, इज्जत अलि मियाँ सदस्य छन् । कार्यक्रममा जोशीले अहिलेको कांग्रेसको नेतृत्व इतिहासकै असक्षम भएकाले नेतृत्व परिवर्तन गर्नुपरेको जिकिर गरे । कांग्रेसको खास राख्न विशेष अधिवेशन गर्नुपरेको उनको भनाइ छ ।

पार्टी कार्यालयै नयाँ समितिको पदस्थापन गर्ने भनिए पनि अर्काे पक्षको विरोधले जोशी यसमा सफल भएनन् । जोशी समूहलाई कार्यालयको ५० मिटर परै प्रहरीले रोकेको थियो ।

कांग्रेस तनहुँले भने पार्टीको विधान विपरीत विशेष अधिवेशन भएको दाबी गरेको छ । तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले विशेष अधिवेशन गर्ने व्यवस्था विधान नभएकाले यो अधिवेशन अवैधानिक हुने बताए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।