स्वस्थानीसँगै माघे जात्रा सुरु, किन मनाइन्छ यो जात्रा

पौराणिक सांस्कृतिक ‘माघे जात्रा’को पोखरामा संरक्षण गरिनु पर्नेमा जोड दिइएको छ । माघे जात्रा व्यवस्थापन समिति पोखराले सुरु गरेको अभियानलाई सघाउन अनुरोध गरिएको छ ।

राजा भगीरथले भगवान शिव र माता गंगाको तपस्या गर्दा स्वर्गबाट पृथ्वीमा अवतरण भई कपील ऋषिको श्रापबाट मृत्यु भएका आफ्ना पुर्खाको मुक्तिको लागि गरिने जात्रा हरेक वर्ष श्रीस्वस्थानी व्रत कथा आरम्भदेखि समापनसम्म स्थानीय मठ मन्दिर भजन यात्रासहित परिक्रमा गरेर मनाइने प्रचारप्रसार संयोजक अष्टमान प्रधानांगले जानकारी दिए ।

श्रीस्वस्थानी माता, गंगा माता, भगवान शिव, विष्णु भगवान र गणेश भगवानका स्तूति गरिएका विभिन्न स्वरुपको चर्चा भएका भजनका गीतहरु गाउँदै टोल टोलका मठ मन्दिर परिक्रमा गर्ने परंम्परा छ । महाभारतको बन पर्वमा उल्लेख भए अनुसार नै आफ्ना पुर्खाले बचाएको संस्कृतिलाई प्रचलनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ ।

विसं. १९७७ सालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेरले किर्तिपुर निवासी बैठकलाल श्रेष्ठलाई पोखरामा बालधारा स्थापना गराउन निर्देशन दिएसँगै धार्मिक एवं संस्कृतिका पौरखी श्रेष्ठले नै माघे जात्रा स्थापना गरेका संयोजक प्रधानांगले जनाएका छन् ।