
अनसनपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत डा गोविन्द केसीको समर्थनमा पोखरामा उनका मागप्रति प्रदर्शन भएको छ । मानवअधिकार चौतारा चिप्लेढुङामा जम्मा भएर पोखरेलीले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागीले ‘माफियामुखी ऐन चाहिँदैन’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायब भयो’, ‘सरकार जनताको हो कि माफियाको’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
सोलिडारिटी फर डा केसीले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, युवा तथा नागरिक अगुवाको सहभागिता थियो ।
अब माघ ८ गते मंलबार ,साझ ४ ः३० बजे गण्डकी हस्पिटल चोक पोखरामा कार्यक्रम दबाब कार्यक्रम गर्ने डा वसन्त गौतमले जानकारी दिए । ‘सरकारले माफियामुखी ऐन पास गराउन लागेको, सत्याग्राही डा केसी लाई १५ औं पटकसम्म धोका दिएको र १६ औं पटक अनसन बस्न वाध्य पारेकाले उहाँको समर्थनमा हामी निरन्तर दबाबमूलक कार्यक्रम गर्नेछौ,’ डा. गौतमले भने । उनले राजनीति दाउपेचमा नलागी केसीको पक्षामा उभिन सबैमा अनुरोध पनि गरे ।