रवीन्द्र समीरका ३ लघुकथा

फलफूल
सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ ।
– ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, प्रशस्त फलफूल खुवाउनुहोला ।‘
 चिकित्सकको सल्लाहबमोजिम रामबहादुर फलफूल किन्न पसल गयो । पसलेले भन्यो– ‘…यो अनार प्रति किलो तीन सय… यो स्याउ प्रति किलो दुई सय… यो अङ्गुर प्रति किलो दुई सय पचास… यो केरा प्रतिदर्जन सय मात्र…।’
रामबहादुरको दिमाग फनफनी घुम्यो । उसले सोच्यो, पृथ्वी पनि यसरी घुम्दैन होला । दिनप्रति दिन सप्पै थोकको मूल्य बढ्दै छ । मूल्य त गरिबको मात्र छैन । उसको त मूल्य दिनदिनै घट्दै छ । लिलामीमा पनि बिक्दैन मान्छे ।
ò
–‘ए ! अनार, स्याउ, अङ्गुर, सुन्तला, आँप, केरा… डालीसहित जम्मा दुई सय ।’ चिटिक्क परेको डालीमा चम्किला फलफूल बोकेर एउटा सडकव्यापारीले रामबहादुरलाई हे¥यो । डेढ सयमा दिने हो ? मसँग जम्मा डेढ सय छ । उसले नकुहिने, नबिग्रने, नसकिने तथा बच्चाले चोरेर नखाने प्लाष्टिकका फलफूल बोकेर घर फर्कियो ।

.समयको गति
–‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँढाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’
उसको ओठे जवाफ आफैलाई विश्वास नलागे पनि बाबुलाई विश्वस्त तुल्याउने प्रयास ग¥यो –‘बुबाले मलाई केवल आफ्नो युगको अर्ति मात्र दिनुहुन्छ । तपाईं त डाँडामाथिको जून, जुनसुकै बेला पनि अस्ताउन सक्नुहुन्छ । म त उषाको किरण, देशको कर्णधार हुँ । मलाई मेरा लामो जीवनबारे चिन्ता छैन र ?’  
—‘जूनले कहिल्यै पोल्दैन बाबू ।’
—‘तर जून, घामकै सहायताले उज्यालो देखिन्छ !’
—‘तेसो भए तँ घाम बन्नू बाबु, म तेरै सहायताले बल्न चाहन्छु । तर, बत्ती नबन्नू !’
एक दिन हुरी चल्यो । त्यसपछि पो थाहा भयो, छोरो त बत्ती पो रहेछ । निभ्यो । तर डाँडामाथिको जून निभेन !

अपथ्य

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’

बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरुको बासनाले रसाएर आयो ।

‘बाजे ! के खाने ?’

भोकले अम्लपित्त बल्झएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरुमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो – ‘आलुचनाको सय रुपियाँ, चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी… !’

दर सुनेर बूढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।

– ‘बाजे के ल्याम तपाईंलाई ?’

बूढाले खोक्तै जबाफ दिए – ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ… !