निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’ को छायाङ्कन सम्पन्न

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा पनि देख्न पाइने भएको छ ।

निर्माला पन्तको बलात्कार पछि हत्या भएको घटनामा आधारित फिल्मलाई  शिवम् अधिकारीले निर्देशन गरेका छन् ।

सोमबार चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजना गरी फिल्मको छाँयाकन सम्पन्न गरिएको हो । करिब एक महिनाको सुटिङपछि फिल्मको छायाँकन सकिएको निर्देशक अधिकारीले कार्यक्रममा जानकारी दिए ।

करिब ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यो फिल्मले स्व पन्तको बलत्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण गरेको निर्देशक अधिकारीले बताए ।

‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समेत समाबेश छ । फिल्ममा प्रमुख पात्र निर्माला अर्थात ‘कोपिला’को भूमिकामा सञ्जीवनी खरेल देखिएकी छन् ।

फिल्ममा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।