फिल्म गर्न निरुताको ५ लाख डिमाण्ड

अभिनेत्री निरुता सिंहको व्यस्तता अहिले निकै लोभलाग्दो छ ।

धेरै निर्माता निर्देशक उनलाई फिल्ममा चरित्र अभिनेत्रीमा लिन तँछाड-मछाड गरिरहेका छन् । दशक अगाडिकी निर्विकल्प अभिनेत्री उनी भटाभट फिल्म फ्लप हुन थालेपछि करीब ८/९ वर्ष काँचको पर्दाबाट टाढा रहेकी थिइन् ।

‘इन्टेरियर डिजाइनिङ’ सिक्न भन्दै मुम्बई हानिएकी उनी लामो समय उतै बसिन् ।  यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट निर्देशक विकासराज आचार्यले उनलाई कमब्याक गराए ।

भूमिका छोटो भए पनि उनको अभिनयले दर्शकलाई बाँध्यो । यो फिल्मपछि अहिले उनको हातमा फिल्मको लस्कर छ । ‘गर्छु’ भनेका केही फिल्म उनले व्यस्तताका कारण छाडि पनि सकिन् । ‘लभ स्टेशन’ उनले छाडेको फिल्म हो ।  

 हालै उनले महसञ्चारको निर्माणमा बनेको फिल्म ‘दाल भात तरकारी’ को छायांकन सकिन् ।

यसमा उनी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा छन् । यो फिल्मपछि उनको पाइपलाइनमा एक फिल्म थियो, ‘हजार जुनीसम्म’ । तर, उनले उक्त फिल्मबाट हात झिकेकी छन् ।  

हाल सिक्किममा छायांकन भइरहेको फिल्ममा उनको ठाउँमा निर्माण टिमले अभिनेत्री सञ्चिता लुइँटेललाई अनुबन्ध गरेको छ ।

आफूलाई कमब्याक गराउने निर्देशकको फिल्म उनले छाड्नुको पछाडि पारिश्रमिकमा कुरा नमिलेर बताइएको छ । प्राप्त जानकारी अनुसार, उनले उक्त फिल्ममा ५ लाख पारिश्रमिक माग गरेकी थिइन् । 

 स्रोतका अनुसार, उनलाई रोल पनि चित्त बुझेको थिएन । ‘हजार जुनीसम्म’ मात्र होइन उनले सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि पारिश्रमिकमा कुरा नमिलेपछि गरिनन् ।

उनले ५ लाखमाथि डिमाण्ड गरेकी थिइन् । उनलाई अफर गरेको रोलमा सुदर्शनले अभिनेत्री गौरी मल्ललाई अनुबन्ध गरेका छन् । 

 निरुताको ‘नाइँ नभन्नू ल ५’ पछि कुनै फिल्म रिलिज भएका छैनन् तर पारिश्रमिक भने ‘दुई गुना रात चौगुना’ बढिरहेको छ । उनले माग गरेको पारिश्रमिक अहिलेका चलेका हिरोइनले समेत पाउन मुश्किल पर्छ । अब चरित्र अभिनेत्रीमा निरुतालाई ५ लाख दिएर जोखिम उठाउन के निर्माता तयार होलान् त ? यो भने हेर्न बाँकी छ ।