‘सञ्जू’ निर्देशक भन्छन्, ‘मेरो साख बर्बाद गर्न खोजियो’

एजेन्सी चर्चित फिल्म निर्देशक राजकुमार हिरानीले आफूमाथि लागेको ‘सेक्सुअल ह्यारेसमेन्ट’ को आरोपको बारेमा मुख खोलेका छन् ।

एक स्टेटमेन्ट जारी गर्दै उनले गएको दुई महिना अगाडि आफूमाथि लागेको उक्त आरोपको बारेमा थाहा पाएपछि अचम्ममा परेको बताएका छन् । 

 ‘मुन्ना भाई एमबीबीएस’, ‘३ इडियट्स’ ‘सञ्जू’ र ‘पिके’ जस्ता बल्कबस्टर फिल्मका निर्देशक राजकुमार हिरानीमाथि उनकी असिस्टेन्ट रहेकी एक महिलाले ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको आरोप लगाएकी हुन् । फिल्म ‘सञ्जू’ को पोस्ट प्रोडक्सनको क्रममा करीब ६ महिनासम्म आफूमाथि हिरानीले यौन शोषण गरेको उनले बताएकी छन् ।  

 यौन शोषणको खबर बाहिर आएपछि हिरानीले आफ्नो पक्षको एक स्टेटमेन्ट जारी गर्दै आफूलाई फसाउन खोजिएको बताएका छन् । उनले आफ्नो बयानमा भनेका छन्, ‘ममाथि लागेको आरोपमा सत्यता छैन । त्यो सबै झूट हो । यो दुर्भावनापूर्ण र नोक्सान पुर्‍याउने कहानी हो, जुन एक योजनाअनुसार फैलाइएको छ । मेरो साखलाई बर्बाद गर्ने षड्यन्त्र हो यो ।’

 कहिलेको हो यो मामला ? 

आरोप लगाउने महिला फिल्म ‘सञ्जू’ को बेला राजकुमार हिरानीको असिस्टेन्ट थिइन् । यो मामला त्यसबेलाको हो । महिलाको आरोपका अनुसार, ‘सञ्जू’ को पोस्ट प्रोडक्सनको बेला सबैभन्दा बढी हिरानीले उनीसँग गलत हर्कत गरेका थिए ।

६ महिनामा एकभन्दा बढी पटक आफूमाथि ‘सेक्सुअल ह्यारेसमेन्ट’ भएको उनले निर्धक्क भनेकी छन् ।  यो मामला मार्च २०१८ देखि सेप्टेम्बर २०१८ को बीचको हो । आरोप लगाएकी महिलाले भनेकी छिन्, ‘९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक ममाथि सेक्सुअल टिप्पणी गरे र फेरि उनले आफ्नै घरको कार्यालयमा सेक्सुअल ह्यारेसमेन्ट गरे ।’ उनले हिरानीलाई आफूले पिता समान सम्झने गरेको पनि बताएकी छिन् ।