भीमादमा जनजाति पत्रकारको प्रादेशिक भेला

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको प्रथम प्रादेशिक भेला १७ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ ।

तनहुँको भीमाद–५ स्थित मिछुर्लुङमा सम्पन्न भेलाद्वारा जारी घोषणापत्रमाश्रमजीवी पत्रकार ऐन तथा सरकारले तय गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल प्रदान गर्न माग गरिएको छ ।

सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति संघ, प्रदेश र स्थानीय तहमा तत्काल लागु गर्नुपर्ने, सरकारी तथा निजी सञ्चारमाध्यममा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएको क्षेत्रलाई समानुपाति आधारमा समावेश गर्नुपर्ने माग गरिएको छ ।

तीनै तहका सरकारले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदायका पत्रकार सम्बद्ध संघसंस्थालाई न्यायोचित वितरण, उनीहरुको क्षमता अभिवृद्धका कार्यक्रम लगायत समावेश गर्न माग गरिएको छ ।

साथै आदिवासी जनजाति समुदायका भाषा, लिपी, संस्कार, संस्कृतिका सम्वद्धन गर्ने कार्यक्रम प्रकाशन तथा प्रसारण, सबै क्षेत्रमा समावेशी विज्ञापन, सबै प्रदेश तथा स्थानीय तहमा आदिवासी जनजाति समुदायको बाहुल्यता रहेका ठाउँमा मातृभाषामा सरकारी कामकाजको भाषाको रुपमा अवलम्बन गर्नुपर्ने लगायतका बुँदा समावेश गरिएको सचिव मनोज घर्तीमगरले जानकारी दिए ।

यसअघि भेलाको भीमाद नगरपालिका प्रमुख मेखबहादुर थापा र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा मेयर थापाले आदिवासी जनजातिका संस्कृति प्रचार र संरक्षणमा आदिवासी पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले फोनिजले मगर गाउँको होमस्टेमा भेला राखेर यस क्षेत्रको प्रवद्र्धनमा ठूलो सहयोग पुर्‍याएको भन्दै धन्यवाद दिए ।

फोनिज अध्यक्ष डण्ड गुरुङले आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कृतिलाई सम्बद्र्धन र प्रवद्र्धन हुने गरी कलम चलाउन आग्रह गरे ।

महासंघका संघीय वरिष्ठ उपाध्यक्ष गजुरधन राईले देशभर ३ हजार ५ सय आदिवासी पत्रकार रहेको जानकारी दिए । उपमेयर शारदा खनालले अधिकांश पुरुष वैदेशिक रोजगारमा गएकाले यस क्षेत्रको विकासमा महिलाहरुलाई अग्रसर बनाई उत्पादन गर्न सकने यहि स्वरोजगार बनाउन सकिने बताइन् ।

फोनिज गण्डकीका इन्चार्ज हुम तमुको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज गण्डकीका सचिव रुद्र श्रीस मगर, बरिष्ठ फोटो पत्रकार मिलन गुरुङ, फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगर, तनहुँका अध्यक्ष प्रताप राना लगायतले स्थानीय तहले आदिवासी जनजाति समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । भीमाद नगरपालिकाको सहयोगमा भएको कार्यक्रम फोनिज तनहुँको व्यवस्थापनमा भएको हो ।