फुटबल स्टेडियम बनाउन ग्रेट स्पोर्टससँग सम्झौता

लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि सम्झौता गरिएको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग फुटबल स्टेडियम निर्माणको लागि सम्झौता गरिएको हो ।

‘सम्झौताको लागि आह्वान गर्न आसयपत्र प्रकाशित गरेपछि कम्पनीसँग सम्झौता भएको हो ।’ राष्ट्रिय खेलकुद परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने–‘सम्झौता भईसकेको छ । अब कम्पनीले फिल्ड भिजिट गरेपछि काम शुरु गर्ने छ ।’ कम्पनीका पदाधिकारीहरु सोमबार पोखरा रंगशाला आउने र स्थलगत अध्ययन गर्ने छ ।

नयाँ भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित १३ महिना अघि ती मैदानको पुर्व पश्चिम रहेका दुई प्यारापिट भत्काईएको थियो । राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमको लागि आवश्यक बजेटमध्ये ५३ करोड समेत विनियोजन गरिसकेको छ । ‘मन्त्रालयले बजेट छुट्टाईसकेको छ ।’उनले भने–‘छ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का दिइएको छ ।’

खेलकुद परिषदले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेण्डर आह्वान गरेको थियो । सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको अन्तिम छनोटमा परेका थिए । तर केही महिना अघि मात्रै चिनियाँ कम्पनीलाई हटाई भारतीय कम्पनीलाई छनोट गरिएको थियो ।

मैदानको लागि १ अर्ब ७३ करोड ५५ लाख खर्च हुने अनुमान गरिएको छ । फुटबल स्टेडियम बनाउन अर्थ मन्त्रालयले डेढ महिना अघि मात्रै बजेट सुनिश्चितता गरेपछि टेण्डर प्रक्रियालाई टुग्याइएको हो । अर्थ मन्त्रालयले १ अर्ब २० करोड ५५ लाख रुपैयाँको उपलब्ध गराउने सुनिश्चितता गरेको थियो ।

आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको थियो । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ ।

एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त राखिएको थियो । जोईन्ट भेन्चरमा रहेको कम्पनीको कार्यक्षमता र दक्षता, कम्पनीको वार्षिक टर्न ओभर लगायत अध्ययन परिषदले गरेपछि निर्णय गरिएको उनले सुनाए ।

टेण्डर सम्झौता भएपछि कम्पनीका पदाधिकारीहरु पोखरा आईपुग्ने जनाउँदै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले स्थलगत अध्ययन गरेपछि लगत्तै काम शुरु गर्ने बताए । ‘अब काम रफ्तारमा हुन्छ ’ उनले भने–‘सोमबार टोलीले स्थलगत अध्ययन गरेर फर्किएपछि सामान झार्न शुरु हुन्छ ।’ टेण्डर सम्झौता भएपछि माघ १५ गतेदेखि मनकामना केवलकार फुटबल प्रतियोगिता र फागुन ९ गतेदेखि सञ्चालन हुने आहा रारा गोल्डकप प्रतियोगिता प्रभावित हुने सम्भावना छ ।

पोखरा रगंशाला ४१७ रोपनी छ । पुर्वाधार बनाउन केवल थोरै मात्रै छन् । क्रिकेट, स्वीमिङपुल, सडक, मार्शल आर्ट कभर्ड हल बनाउन बाँक छन् । आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, व्याडमिन्टन कभर्ड हल निमार्णाधिन छन् । साग गेमलाई लक्षित गरी र्आचरी, कभर्ड हल र टेनिस कोर्टको काम भईरहेको छ । स्क्वासको लागि आवश्यक पुर्वाधार समेत बनाईएको छ ।

पोखरा रंगशाला भित्र अहिले साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल, दुई करोडको लागतमा आर्चरी मैदान, साढे दुई करोडमा टेनिसको हार्ड कोर्ट, क्ले कोर्ट र चेन्जिङ रुमसहित प्यारापिट निर्माणाधिन, साढे तीन करोडको लागतमा निर्माणाधिन चारकोर्ट युक्त व्याडमिन्टन कभर्ड हल, सवा करोडको लागतमा भलिबल प्रशिक्षण केन्द्र र ९० लाखको लागतमा ह्याण्डबल खेल मैदान निर्माण गरिएको छ ।

यता गण्डकी प्रदेश सरकारले समेत अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न परिपत्र गरेको जनाएको छ । अन्तराष्ट्रिय खेल मैदान बनाउन प्रदेशले चिनियाँ कम्पनीसँग छलफल गरिरहेको छ । छलफलसँगै चिनियाँ रेल वे १४ औं व्युरो ग्रुप कम्पनीले रंगशाला अध्ययन भ्रमण गरी आवश्यक सर्भे गरी नक्सांकन गरिसकेको गण्डकी प्रदेश भौतिक योजना तथा विकास मन्त्री रामशरण बस्नेत बताएका थिए ।

source: kheladinews